Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


विधि र प्रक्रियाबाट मात्रै संविधान संशोधन सम्भवः उपसभापति भुसाल


78
Shares

काठमाडाैं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले विधि र प्रक्रियाबाट मात्रै यो संविधानको संशोधन सम्भव रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । वर्तमान संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट राजनीतिक रूपान्तरण भएको र संविधानको रक्षाको लागि विधि र प्रक्रियाबाट मात्रै संविधान अगाडि बढ्नुपर्ने बताउनुभयो ।

आगामी तीनै तहको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न पार्टी नेतृत्वसँग आग्रह गर्नुभयो । उपसभापति भुसालले समावेशिता र समानुपातिक प्रतिनिधित्वको संवैधानिक मर्मलाई आत्मसात गर्दै काँग्रेसले महिला सहभागितामा ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

उहाँले वडा अध्यक्षदेखि पालिका प्रमुख, प्रदेश सभा र प्रतिनिधि सभासम्मकै प्रत्यक्ष निर्वाचनमा महिलाहरूलाई ३३ प्रतिशत उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा प्रतिनिधि सभामा महिला उम्मेदवारको सङ्ख्या ५ बाट बढेर ११ पुगे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै पार्टीको साङ्गठनिक संरचनामा समेत समानुपातिक समावेशी अनुहारको उचित प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो । संविधानको रक्षा र कार्यान्वयनका सन्दर्भमा बोल्दै उपसभापति भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि संविधानको संरक्षण अनिवार्य रहेको बताउनु भयो । संविधान गतिशील दस्तावेज भएकाले यसको संशोधन विधि र प्रक्रियासम्मत ढङ्गले हुनुपर्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो,‘पार्टी सभापतिले आगामी स्थानीय निर्वाचनमा कम्तिमा ६ जना महिलालाई प्रमुखको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ, जुन सकारात्मक छ । तर अब वडा तहदेखि केन्द्रसम्मकै सबै प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिलालाई प्रतिष्पर्धामा उतारेर काँग्रेसले आन्तरिक लोकतन्त्रको नयाँ अभ्यास प्रारम्भ गर्नुपर्छ । नेपाली काँग्रेसले यो संविधान धेरै ठूलो अधिकारको लागि लडेर बनेको यो संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट राजनीतिक रूपान्तरण भएको यो संविधानको रक्षाको लागि, यो संविधानको संरक्षणको लागि विधि र प्रक्रियाबाट यो संविधान अगाडि बढ्नुपर्दछ । विधि र प्रक्रियाबाट मात्रै यो संविधानको संशोधन सम्भव छ भन्ने कुरालाई मलाई लाग्छ त्यसका न्युनतम आधार स्तम्भहरूलाई, न्युनतम आधार मूल्य मान्यताहरूलाई नेपाली काँग्रेसले आफ्नो दृष्टिकोणमा कसरी अङ्गालेको छ भन्नेकुरा आजको यस कार्यक्रमबाट घोषणा हुँदैछ ।’

नेपाली काँग्रेसले संविधानका न्युनतम आधारभूत मूल्य र मान्यतालाई आत्मसात गर्दै आफ्नो दृष्टिकोण तय गरिरहेको जानकारी दिँदै उहाँले राजनीतिक रूपान्तरणका उपलब्धिहरू जोगाउन पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।