प्रेमध्वज प्रधानको स्मरणमा… « Image Khabar


प्रेमध्वज प्रधानको स्मरणमा…



सुरजवीर बज्राचार्य
हात बढाउन खोज्दैछु । पाँच अक्षरहरू लेख्न । तर औँलामा त्यो शक्ति छैन आज । पाना, पानाको ठेली लेखिसकेको औँलालाई जाबो पाँच अक्षर लेख्न किन त्यत्रो शक्तिको आवश्यकता परेको छ आज ?

समवेदना, संसारमा बढी व्यक्त हुने भावको पहिचान बोकेको यो शब्द । यो शब्दले मेरो मनको भाव व्यक्त गर्न खोजेको हो वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनमा… । ज्यान गुमाएका एक व्यक्तिका लागि पाँच अक्षरको एउटा शब्द यो शरीरबाट फुत्किन ज्यानै जाला जस्तो अवस्थाको संघर्षपछि स्मरणका आँशुहरूले शायद त्यो कठोरता पगालेछ । शब्द बग्न थाल्यो ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानमा सम्मान आयोजित एउटा सांगीतिक कार्यक्रम । कार्यक्रम पश्चात प्रायः व्यक्तिहरू उहाँसँग फोटो खिच्न लालायित । एउटा सामान्य लाइन जस्तै थियो यसैको लागि । म र मेरी श्रीमती रमा पनि फोटो खिच्न नजिक पुग्यौं । रमाले क्यामेरा सम्हालिन् । म उहाँ नजिक पुगेँ । नपुग ठाउँमा आफू सरेर उहाँले हात समाएर बस्न आग्रह गर्नुभयो । म अच्चमित थिएँ । उहाँसँग एउटा फोटोको आग्रह थियो तर यो व्यवहार ! आग्रह स्वीकार गरी सँगै बसेँ । उहाँले भन्नुभयो ‘म तिम्रो रेडियो कार्यक्रमको नियमित स्रोता हुँ । जनसरोकार, रिपोर्टस् डायरी, अझ मेरै बारेमा समेत बनाएको जीवनका रंगहरू, व्यक्ति व्यक्तित्व लगायत सम्पूर्ण कार्यक्रमको उल्लेख गर्नुभयो र जन्मले नेवार, नेपाली भाषाको कार्यक्रम कति राम्रोसँग सञ्चालन गरेको ? म निकै खुशी छु तिम्रो प्रस्तुतिबाट ।’

यसपछि पनि प्रत्येक कार्यक्रममा भेट हुँदा वा समूहमा भेट हुँदा उहाँले यो विषय उल्लेख गरेर मेरा बारेमा सधैँ खुशीले अरुलाई सुनाउने गर्नुहुन्थ्यो । यही उत्साह र आर्शिवाद मेरो जीवनको उर्जा हो । यही कार्यक्रममा एउटा गीत पनि प्रस्तुत गरेँ । तर, औपचारिक कार्यक्रम सम्पन्न भएपश्चात साथीहरूको अनुरोधमा ‘घुम्तीमा नआउ है’ गाएको कसरी बिर्सन सकिन्छ र ?

‘हेप्पी बर्थ डे टु यु’ ले संसारलाई छोपेको परिवेशमा आफ्नै भाषामा जन्मदिनको शुभकामना दिन एउटा गीत होस् भन्ने उद्देश्यले नेपालभाषाको जन्मदिनको गीत सृजना गरेको थिएँ । गीत लोकप्रिय हुँदै थियो । यहीबीच यस गीतको कभर प्रतिस्पर्धा आयोजना गर्ने सल्लाह भयो । निर्णय भयो । आयोजना कार्य बढ्यो । पौष १ गतेदेखि प्रारम्भ भएको प्रतिस्पर्धामा १ सय २१ जना प्रतिस्पर्धी सहभागी भए । निर्णायक कार्यक्रम राष्ट्रिय नाचघरमा आयोजना गर्ने निक्र्यौल भयो ।

प्रतियोगिताको निर्णायक कार्यक्रम अघि सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रम जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यता थियो । त्यसैले उहाँलाई नै प्रमुख अतिथिका लागि आग्रह गर्ने निर्णय पनि भएको थियो । तर उहाँको समय मिलेन । कार्यक्रमको लगभग अन्तिम अवस्था थियौं । प्रमुख अतिथि निर्क्याैल भइसकेको थिए । वरिष्ठ गायक प्रेमध्वज प्रधानको नाम उल्लेख गरेँ ।

आयोजक पेजथ्रीका दर्शनवीर शाक्य, प्रायोजक चेज टेलिभिजनका सुरेश मल्ल, संगीत संयोजक जूगल डंगोल लगायत सबैको सहमति पछि सम्पर्क गरेँ । त्यो दिन बनेपामा कार्यक्रम रहेको जानकारी गराउँदै आउन गाह्रो होला भन्नु भयो । विकल्परहित आशाका रूपमा रहेको अवगत गराएँ । कोशिश गर्छु भन्नुभयो । उहाँको कोशिश सार्थक बन्यो । कार्यक्रममा उहाँको उपस्थिति रह्यो । कार्यक्रमका बारे, गीतका बारे, प्रतिस्पर्धाका बारे उहाँका शब्दहरूले ब्यक्त गरेको भाव र उर्जाले ३–४ महिनाको मेहेनत सुखद बनायो । अविश्मरणीय बनायो ।

यसपछि पनि कार्यक्रम सञ्चालन तथा संयोजनका लागि आउने विभिन्न अनुरोधमा प्रमुख आतिथ्य, आतिथ्यमा उहाँको आशा पूरा गर्नु सामान्य जस्तै बनेको थियो । प्रत्येक आग्रह त्यति सहजताका साथ मान्य हुन्थे । उहाँको सहज र उत्साह जगाउने व्यवहारले औपचारिकता नमागे पनि सकेसम्म पत्रका साथ भेट्न जाने गर्दथेँ व्यक्तित्वप्रतिको मानका लागि ।

उहाँलाई मनपर्ने रेडियो कार्यक्रमहरू मध्ये एक ‘जीवनका रंगहरू’मा उहाँकै बारे २ भागमा उहाँको जीवनका रंगहरू समेटेको छु । नारायण गोपालको व्यक्तित्व स्मरणमा उहाँसँग कुराकानी गरेको छु । फत्तेमानसँग जोडिएका स्मरण समेटेँ । नेपालको सांगीतिक क्षेत्रसँग जोडिएका अनगिन्ती स्मरणहरू प्राप्त गर्न स्रोेत व्यक्तिका रूपमा उहाँको साथ पाएको छु । प्रत्येक मिति, बार, समय समेत उल्लेख हुने उहाँको स्मरण, शब्द, नयाँ सृजनाहरू अब रोकिएका छन् । तर, उहाँका सबको मनमनमा बसेका गीतहरूको गुञ्जन रोकिने छैन । उहाँको समधुर उपस्थिति बिलाउने छैन ।

समय बलियो छ । समयले व्यक्ति प्रेमध्वज प्रधानको अस्तित्व मेटाएको छ भौतिक रूपमा तर व्यक्तित्व प्रेमध्वजलाई यही समयले अमर बनाइराख्नेछ । हामीलाई उहाँको प्रत्येक योगदान स्मरण गराइरहने छ । उहाँको अनुभूति गराइरहनेछ ।
(लेखक इमेज न्यूज एफएम १०३.६ का कार्यक्रम निर्माता एवं प्रस्तोता हुनुहुन्छ ।)