Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


बागलुङका चार पालिकामा निषेधाज्ञा


0
Shares

बागलुङ । कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि जिल्लाका चार पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकामा निषेधाज्ञा लगाइएको हो । अन्य तीन पालिकामा मंगलबारदेखि र ताराखोला गाउँपालिकामा १७ गतेदेखि जारी निषेधाज्ञा ३१ गतेसम्म थप गरिएको छ ।

जैमिनी नगरपालिकामा चल्ने सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले बागलुङ नगरपालिका क्षेत्रभित्र वैशाख २१ गते बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।

डिसीसीएमसीले बागलुङ नगरपालिकामा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने, हिँडडुल नगर्ने, खाद्यसामग्री तथा पशुपन्छीका दाना, तरकारी, फलफूल, दुग्ध उत्पादन, माछा, मासु, पानी ग्यास लगायतका पसल स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । यस्तै अत्यावश्यक सेवाका बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो ।

समितिले बागलुङ नगरपालिकाभित्रका सरकारी र सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थामा भीडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपालो पद्धति अनुसार न्यूनतम कर्मचारी खटाई कार्यालय सञ्चालन गर्नु/गराउनुपर्ने निर्णय गरेको छ ।