माइपोखरीमा म « Image Khabar


माइपोखरीमा म


Border circle
Imagekhabar

नारायण पौडेल

गत हप्ता मैले इलाम लगायत नेपालका केही पुर्वी जिल्लाहरु भ्रमण गरे । दिदीको बिहेको लागी मेरो कार्यक्षेत्र सिन्धुपाल्चोक देखी इलाम सम्मको यात्रा तय भएको थियो । मेरा प्रिय साथी जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत पशुपति खनालको घर समेत पुर्व हो । हामी दुवै संगै जाने भयौं । काठमाण्डौबाट विराटनगरका लागि श्री एयरको टिकट काट्यौं । हतारहतार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्यौं । तर, मौसमको खराबीका कारण त्यसदिन श्री एयरको फ्लाइट बिहानै देखी डिले हुदै आएको रहेछ । दिउँसो २ बजेको फ्लाइट साँझ ५ बजे मात्रै भयो ।हाम्रो त टिकट ५ बजेको थियो । आज विमान नउड्ला जस्तो भयो, श्री एयरका साथीहरु टिकट फिर्ता गर्ने सोँचमा देखिनु भयो । तर हामी राती ९ बजे भएपनी विराटनगर उडानका लागि तयार भयौं । सोही अनुसार राति ९:१० बजे १६ जना यात्रु लिएर विमान विराटनगरका लागि उड्यो ।

पहिलो पटक नेपालको पुर्वी जिल्ला जान हौसिएको मेरो मन । ४ घण्टाको एयरपोर्ट कुराइमा धेरै कुराहरु खेलिरहेका थिए । तर कसैलाइ सेयर गर्न सकिन । त्यहाँ सबै आ आफ्नै सुरमा व्यस्त थिए । कोही फोनमा, कोही लाइभमा, कोही फोटो लिँदै थिए । हुनपनि हो, जमाना अनुसार चल्नै पर्यो । अरुलाइ भन्न र देखाउन बिर्सियो भने त यात्रा गरेको के महत्व छ र ।

राती ९:४० बजे हामी विराटनगरमा ओर्लियौं । खनाल सरको घर इटहरी थियो । हाम्रो सोंच इटहरी पुगेर बस्ने भयो । अजिंगरको आहारा दैवले जुराउँछ भनेझैं । इटहरी जाने एकजना व्यापारी अंकल भेटिनु भयो । उहाँको आफ्नै गाडी रहेछ । हामीले उहांसंगै इटहरी जाने सोच बनायौं । उहाँले मादक पदार्थ सेवन गर्नु भएको थियो । हाम्रो हरेक कुरामा निहुँ खोजीरहनु हुन्थ्यो । पशुपति सरले सोध्नुभयो, दाजु हजुर आफै ड्राइभ गर्नुहुने की ड्राइभर छ ? उहाँ एकछिन मौन रहनुभयो अनि एकछिनमा जवाफ फर्काउनुभयो, तपाइहरुलाई म माथि विश्वास छैन । म तपाइहरुलाइ इटहरी लैजान्न । हो विश्वास त थिएन । मापसे गरेर गाडी चलाउनेको के विश्वास हुन्छ र ? तरपनि हाम्रो इटहरी पुग्नुपर्ने बाध्यता थियो । एउटै क्षेत्रको भएकाले खनाल सरले उहाँलाइ अनेक कुरा गरेर फकाउनु भयो । म त त्यसो गर्न सक्दिन थिए । बरु विराटनगर नै बसौला भन्ने मनमा सोचेको थिए । अन्ततः उहाँ हामीलाइ संगै लिएर जान तयार हुनुभयो ।

हामी रमाइलो गफ गर्दै विराटनगर देखी इटहरी सम्मको यात्रामा निस्कियौं । इटहरी पुगेर अंकल आफ्नो घरतिर लाग्नुभो । हामी पशुपति सरको घरमा पुग्यौं । खनाल सरको घरमा भाइ बहिनी मात्रै हुनुहुँदो रहेछ । बुबामम्मी पहाड घर तेह्रथुममा। प्रदेश १ का पहाडी जिल्लाबाट आएर बसोबास गर्ने विराटनगर, इटहरी, धरानतिर नै हो । खनाल सरका भाइ रहेक कुरामा रमाइलो रहेछन । बहिनी कम बोल्ने । दुबैजना बोल्दा हाँसेरै बोल्ने । मलाई रमाइलो लाग्यो ।

अर्कोदिन बिहानै ६ बजे म इटहरीबाट बिर्तामोड हुँदै इलामतर्फ लागे । प्रकृतिपनि कस्तो अचम्मको । जब म चारआलीबाट सुमो चढे तब आकाश गर्जिदै हावाहुरी र चट्यांग सहित भारी बर्षा भयो । कुहिरोले बाटो बाहेक वरीपरि केहि देखिएन । सुमोमा रमाइला साथिहरु रहेछन । नयाँ मान्छे देखेर होला । उनीहरुले मसँग सोधखोज गरे । मैले पनि भन्नमिल्ने जती सबै भने । यस अघि पुर्वका केही साथीहरु मात्र थिए । ती सबै असल, राम्रो र फ्र्यांक छन् । सानोतिनो कुरामा चित्त दुखाउँदैनन । त्यसैले पनि पुर्वेली मलाई असाध्यै मनपर्छ । अब थप साथीहरु मेरो जीवनमा थपिदै थिए ।

चालक पनि रमाइलो रहेछन । बाहिर भारी पानी परिरहेको थियो । तर सबै रमाइला भएर होला सुमोमा करिब ३ घण्टाको समय बितेको पत्तै भएन । इलामको बिब्ल्याँटे बजार पुगेपछि सुमो रोकीयो । चालकले भने सर हजुरको गन्तव्य यहीँसम्म हो । म ओर्लेर भाडा दिएँ । भिनाजुलाइ मोबाइलबाट फोन गरेँ । भिनाजु मलाइ लिन म ओर्लेको ठाउँमा आउनु भो । हामी दिदिको विहेको तयारीमा लाग्यौं ।

भोलीको बिहे थियो । २ दिन हामी बिहे तिरै व्यस्त भयौं । दुलाहा अर्थात भिनाजुसंग पहिल्यै चिनजान थियो । त्यो बाहेक दुलाहा पक्षका कसैसंग चिनजान भएन । म चिनिन पनि चाहिन। उनीहरु को को थिए र कस्ता थिए, यादै पनि छैन । भाइहरु (मनिष, प्रताप, पारस, सन्दिप), बहिनीहरु (अस्मिता, कामना, यमुना, पुजा), रुद्र भिनाजु, म र साथीहरुलगायत सबै परिवार विवाह सम्पन्न गर्न खटियौं । बिहेमा केही मान्छेहरु नौला थिए । केही पहिल्यै आवाज सुनिएका तर प्रत्यक्ष भेटघाट नभएका । केही नाममात्र सुनेका भेटघाट नभएका । केही पहिलेदेखी नजिकिएका । सबैसंगको सामिप्यताले खुसी बनायो ।

तेस्रो दिन मलाइ इलामका केही ठाउँहरुमा घुम्ने समय मिल्यो । सबै स्थानको व्याख्या अर्को पटक गरौला । माइपोखरीको बारेमा नलेखी म बस्नै सकिन । त्यहाँको पुजारीले बताएको, स्थानीयसंग सोधेको र केही खोजेको कुराहरुलाइ एकिकृत गरेर तपाईंसमक्ष पस्कदै छु।

रामसार सुचिमा परेका नेपालका १० सिमसार क्षेत्र मध्येको एक हो माइपोखरी । यस अघि मैले लोकसेवा तयारी गर्दा गराउँदा पटकपटक पढीसकेको थिए । मेरो दिमागमा यसको फोटो भने अझै बनिसकेको थिएन । यो धार्मीक महत्व बोकेको नौं कुने पोखरी छ । हिन्दु बौद्ध र किराँत धर्मालम्बीहरुको पवित्र स्थलको रुपमा चिनिन्छ। यो तारा आकृति जस्तै देखिन्छ । ड्रोनबाट फोटो खिचिएमा, निश्चित उचाइमा रहेर हेलिकप्टरबाट अवलोकन गरिएमा यो तारा जस्तै देखिन्छ । इलाम जिल्लाको उत्तरी क्षेत्रमा सन्दकपुर गाउँपालिका वडा नं ९ को चुचुरोमा पर्ने माइपोखरी निकै सुन्दर र मनमोहक छ । इलाम बजारको १८ किमी उत्तरमा समुन्द्री सतहबाट २१३० मिटर उचाइमा यो रहेको छ । माइपोखरी गाडी र पैदल दुवैबाट पुग्न सकिन्छ । हामी स्कुटर लिएर माइपोखरी अवलोकनका लागी निस्केका थियौं । मेची राजमार्गको बिब्ल्याँटे बजारबाट पक्की र कच्चि गरि करिब १२ किमी यात्रा गरेर हामी माइपोखरी पुग्यौं ।

२०६५ साल कार्तिक १२ गते अर्थात २८ अक्टोबर २००८ मा माइपाेखरी रामसार सुचिमा परेको हो । माइपोखरी नेपालको नबौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र हो । यो सुन्दर र रमणिय जंगल सहित ९० हेक्टरमा फैलीएको छ । २ हेक्टर सिमसार र बाँकी घनाजंगल रहेको छ । प्राकृतिक, धार्मीक र जैविक विविधता सबै कोणले महत्वपुर्ण र पवित्र स्थल हो । यहाँ पुग्ने आन्तरिक र बाह्य पर्यटकहरु प्राकृतिक सौन्दर्यले भरिपुर्ण मनमोहक दृष्य देखेर आनन्दित हुने गर्छन । हामी पनि निकै प्रफुल्लित भयौं । त्यसैले त मैले माइपोखरीलाई भावनामा नउतारी बस्नै सकिन ।

१.८८ वर्ग किमी क्षेत्रफलमा फैलिएको माइपोखरीको अर्धव्यास ७५० मिटर छ । पैदल जाँदा इलामको बिब्ल्याँटे बजारबाट जसबिरे हुदै करिब ३ घण्टामा पुगिन्छ । यो क्षेत्र बर्षायाममा भन्दापनि हिउँदमा भ्रमणका लागि उपयुक्त हुन्छ । नौ कुना रहेको माइपोखरीको एक कुनाबाट अर्को कुनामा देख्न धौ धौ पर्दछ ।

पुजारीका अनुसार हरिशयनी र हरिबोधनी एकादशीमा यहाँ धार्मिक मेला लाग्दछ । खासगरी हरिबोधनी एकादशीमा भक्तजनको घुइचो अत्याधिक हुने गर्दछ। नवरात्र र नवदुर्गासंग यसको नजिकको संबन्ध छ । पोखरीको नौ कुनामा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ। नवरात्रमा नौ वटै कुनामा दुर्गाको स्वरुपका रुपमा पुजा गर्ने चलन छ ।

स्थानीय तिर्थालुहरु विभिन्न किसिमका विपत्ती पर्दा समेत माइपोखरी पुग्दा रहेछन । विपत्ती पर्दा देवीदेवतालाइ स्मरण गरी त्यहाँ पुगेर पुजापाठ, दान र भाकल गर्ने परम्परा अहिले पनि छ । रमणीय जंगलले घेरिएको माइपोखरी क्षेत्रभित्रै १०० बर्ष भन्दा पहिले स्वामी सोमेश्वरानन्दले निर्माण गरेको शिव मन्दीर छ । जसको वेग्लै महत्व रहेको स्थानीयहरुको विश्वास छ । पोखरीमा छाल आएमा अनिष्ट हुने किम्वदन्ती छ। त्यस्तो भएमा संभावित अनिष्टबाट देश र जनतालाइ बचाउन स्थानिय हरुले शिव मन्दीरमा पुजाआजा गरि पोखरीमा दुध चढाउने चलन छ ।

धार्मीक आस्थाको व्याख्या गरिरहदा यहाँको जैविक तथा प्राकृतिक विविधतालाइ विर्सन सकिदैन । यहाँ समशितोष्ण हावापानी छ । बर्षायाममा २० डिग्री सेल्सीयस सम्म तापक्रम पुग्छ । जाडो मौसममा शुन्य डिग्रीसम्म झर्ने गर्छ । यहाँ लौठसल्ला, सुनाखरी, गलैंचे, चाँप, गुराँस जस्ता राष्ट्रिय अन्तराष्ट्रिय महत्वका विरुवा छन् । चराचुरुङगीको मधुर धुनसंगै सुलुत्त बढेका अग्लाअग्ला रुखको जंगलमा पोखरीको मनोरम दृष्य अवलोकन गर्दै सफारी गर्दा बेग्लै आनन्दको अनुभुति हुदो रहेछ । यस क्षेत्रमा विभिन्न प्रजातिका माछा, उभयचर, सरिसृप र स्तनधारी पाइने । ३०० भन्दा बढी प्रजातिका चराचुरुङगीहरु पाइने । साइवेरियाबाट श्रीलंका बसाइ सर्ने चराहरु समेत यही क्षेत्रमा ट्रान्जिट भएर आउजाउ गर्ने गर्दा रहेछन ।

परापुर्वकालदेखी धार्मीक स्थलको रुपमा परिचित इतिहाँस छ । तर संरक्षणका लागि विसं २०५०मा माइपोखरी संरक्षण समिति गठन गरिएको थियो। समिति बनेपछि नै यस पोखरीको संस्थागत विकासको प्रयास भएको र २०६५ मा रामसार सुचिमा सुचिकृत भएपश्चात यसको महत्व झन बढ्दै गएको पाइन्छ । २०६६ बाट बनाउन सुरु गरेको बनस्पति उद्यानले मात्र होइन, हालै पोखरी प्रवेशद्वारमा निर्मित आकर्षक संरचनाले समेत पर्यटकलाइ लोभ्याउने गरेको छ । माइपोखरी क्षेत्रभित्र रक गार्डेन, चिमाल प्रजनन केन्द्र, जडिबुटी प्रदर्शनी प्लट, लौठसल्ला प्लट, अर्किड उद्यान, जस्ता संरचना समेत छन् । जसले यसको महत्व झनै बढाएको छ ।

स्थानीय वासीहरुको गुनासो संरक्षण समिति प्रति छ । सुख्खा याममा पोखरीको पानी सुक्दै गएको तर संरक्षण समितिले चासो नदिएको उनिहरु बताउँछन । माइपोखरी संरक्षण समितिले यसको स्वरुप नविगारी रामसार मापदण्ड अनुसार सो क्षेत्रलाइ अझै व्यवस्थित गर्नुपर्ने छ । यसो गर्नसके हामीजस्ता आन्तरिक तथा वाह्य पर्यटकका लागि माइपोखरी थप आकर्षक गन्तव्य बन्न सक्छ । आशा गरौं सन्दकपुर गाउँपालिकाले यसको नेतृत्व पक्कै लिनेछ ।

प्रतिक्रिया दिनुहोस्