२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


सुशासनमाथि आक्रमण नगर्न मन्त्रीको चेतावनी


0
Shares

काभ्रेपलाञ्चोक, कात्तिक २ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानुनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले कानुनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानुन सबैलाई बराबरी लाग्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने–‘कानुन सबैका निम्ति बराबर हो । विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।’

विधिको शासन स्थापित गर्न सरकार दत्तचित्त रहेकोमा कसैलाई शंका नगर्न उनले आग्रह गरे ।

मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रशासनलाई चुनौती दिने गल्ती गरिरहेको दाबी गरे ।

‘एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाइँहरुको नैतिकता कहाँ गयो ?’ उनले प्रश्न गरे ।

सुशासनमाथि आक्रमण नगर्न उनले चेतावनीसमेत दिए ।

मन्त्री बाँस्काटाले गलत विषय समाजमा स्थापित नहुने भएकाले भ्रममा नपर्न कांग्रेसलाई सुझाव दिए ।

उनले भने–‘यो कम्युनिस्ट पार्टीले निर्माण गरेको सरकार हो, सत्ता होइन । त्यसैले यहाँ कानुनी राज चल्छ । यो कानुनी राजभित्र कसैले उन्मुक्ति पाउँदैनन् ।’

‘केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानुनी राज ठीक लाग्यो भन्ने कांग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानुनी शासन भएन, दमन गरियो भन्ने लोकतान्त्रिक संस्कार कुन हो ?’ भन्दै उनले प्रश्न गरे ।

‘वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही–कसैलाई पनि छुट दिनेछैन’–उनले भने ।

सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुन उनले आग्रह गरे ।

मन्त्री बाँस्कोटाले रेलको प्रसंग कोट्याउँदै छिमेकी देशहरुले ३१ प्रतिशतसम्म ऋण लिएर काम गर्ने गरेको बताए ।

उनले भने–‘हामीले अहिलेसम्म ऋण लिएका छैनौं । तर, हाम्रो क्षमता ३४ प्रतिशतसम्म लिनसक्ने छ ।’

मन्त्री बाँस्कोटाले उत्पादनको संघर्ष समाजवादतर्फ जाने बाटो भएको बताए ।

‘सामाजिक र आर्थिक रुपान्तरणबिना समाजवाद स्थापना हुन सक्दैन । समाजवादमा न्याय प्रणाली वितरणको पनि संघर्ष हुन्छ’–उनले भने ।

पार्टी र सरकार नङ र मासु भएर चल्नुपर्ने भएकाले पार्टीको लडाइँको मोर्चा तिखार्दै उच्च मनोबलका साथ उत्पादनको संघर्षमा लाग्न उनले नेता–कार्यतासँग आग्रह गरे । रासस