१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


छोराले दिए बाबुलाई कलेजो, ‘टिचिङ’मा तेस्रोपटक प्रत्यारोपण सफल


0
Shares

काठमाडौं, कात्तिक २ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ ।

शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको कलेजोले प्रत्यारोपण सफलता प्राप्त गरेको हो ।

प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रत्यारोपण चिकित्सक प्रा. डा. रमेशसिंह भण्डारीको टोलीले करिब ८ घन्टा लगाएर सो प्रत्यारोपण गरेको थियो ।

प्रा. डा. भण्डारीकाअनुसार अस्पतालमा यो प्रत्यारोपण तेस्रोपटक सफलतापूर्वक सम्पन्न भएको हो ।

गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण भएको थियो ।

पहिलो प्रत्यारोपणमा ३३ वर्षीया छोरीले ५८ वर्षीय आफ्ना पितालाई कलेजो दिएकी थिइन् ।

‘हामी अस्पतालमा कलेजो प्रत्यारोपणलाई नियमित बनाउने तयारीमा छौं । महिनामा कम्तीमा एउटा कलेजो प्रत्यारोपणको लक्ष्य लिएका छौं’–उनले भने ।

विदेशको तुलनामा नेपालमा कलेजो प्रत्यारोपण कार्य सस्तो छ ।

प्रा.डा. भण्डारीकाअनुसार करिब रु २५ लाखमा कलेजो प्रत्यारोपण गर्न सकिनेछ ।

आफ्ना परिवारभित्रका सदस्यले मात्र कलेजो दान गर्नसक्ने कानुनी प्रावधान छ । रासस