Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


अस्पतालमा महराको ‘मौनता’ : बयान दिन ‘अस्वीकार’


0
Shares

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् ।

पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् ।

बयान सुरु हुन नसक्दा प्रहरीले थालेको अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन । ‘आरोपित अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अवस्था हो, स्वास्थ्यले साथ नदिएका कारण बयान सुरु हुन सकेको छैन,’ सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले कान्तिपुरसँग भने, ‘आशा गरौं, स्वास्थ्य अवस्था सुधार होला । आइतबार बयान लिने र म्याद थपका लागि अदालतमा पेस गर्ने हाम्रो तयारी छ ।’

महरालाई पक्राउ गरी थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको समयसीमा शुक्रबार सकिँदै छ । सरकारी वकिल कार्यालयका प्रमुख खनालले प्रहरीको अनुसन्धानमा रहेको भन्दै अरू विवरण खुलाउन चाहेनन् । अर्का एक सरकारी वकिलका अनुसार महराले ‘मौन रहने अधिकार’ प्रयोग गर्न चाहेका छैनन् ।

फौजदारी अभियोग लागेका हरेक आरोपितलाई घटनाका विषयवस्तु र प्रश्नबारे कुनै उत्तर नदिई ‘मौन रहने’ अधिकार रहन्छ । मौन रहन चाहेको भए स्पष्ट रूपमा भन्न आग्रह गर्दा महराले आफ्नो त्यस्तो रुचि नभएको बताएको कार्यालय स्रोतले जनायो ।

‘उहाँले स्पष्ट रूपमा बयान दिन तयार छु भन्नुभएको छ तर आफ्नो स्वास्थ्यमा केही सुधार होस् भन्ने जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो । कान्तिपुर दैनिकबाट