कार्यशैली सुधारका लागि चिनियाँ राष्ट्रपतिको सुझाव • Image Khabar Image Khabar


कार्यशैली सुधारका लागि चिनियाँ राष्ट्रपतिको सुझाव


Imagekhabar
२६ आश्विन २०७६, आईतवार १२:१४

कार्यशैली सुधारका लागि चिनियाँ राष्ट्रपतिको सुझाव

काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार बेलुका राजकीय भोजलाई सम्बोधन गर्दै नेपाल–चीन मित्रताको प्रशंसामात्र गरेनन्, नेपालको कार्यशैली सुधारका लागि पनि महत्वपूर्ण सन्देश दिएका छन् ।

समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको राजकीय भोज सुरु हुनुअघिको प्रतिउत्तर सम्बोधनमा नेपालीको मन जित्न निकै मिठास र ओझपूर्ण शब्दहरुको प्रयोग गरेका सीले नेपाल चीनबीच दौत्य सम्बन्ध आधा शताब्दी अघिको भन्दै ‘नेपाल चीनबीच कुनै समस्या छैन, मित्रतामात्र छ’ भने । सीले नेपाल–चीनबीचको थप सहकार्य र कनेक्टिभीटीले दुई देशबीच सुविधायुक्त सम्बन्ध स्थापित हुने र जनस्तरमा पनि त्यसको बिस्तार हुने विश्वास व्यक्त गरे ।

आफ्नो पहिलो नेपाल भ्रमणमा केही पुराना र केही नयाँ साथी भेट्न पाएको भन्दै सीले नेपाली नेताहरुसँग मिलेर नेपाल–चीनको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन पाएकोमा निकै खुशी लागेको उल्लेख गरे  । प्रफुल्लित मुद्रामा देखिएका सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ नागरिकले नेपाल भ्रमण गर्ने भन्दै बुद्धको जन्मभूमिमा चिनियाँहरुको उपस्थिति पनि बढ्ने बताए ।

संक्षिप्त सम्बोधनका क्रममा राष्ट्रपति सीले केही योजनाहरुको प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन सहयोग गर्ने बताए । त्यतिमात्र होइन, केरुङ–काठमाडौं सुरुङमार्ग, केरुङ–काठमाडौं रेल्वे निर्माण अध्ययन लगायतका योजनाहरुमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सीले सगरमाथा लगायतका हिमाली क्षेत्रहरुको संरक्षणमा सहयोग गर्ने पनि उल्लेख गरेका छन् ।

यो बाहेक पनि द्विपक्षीय सहयोग आदनप्रदानका थुप्रै सहमति भएका छन् । कतिपय चिनियाँ सहयोगका आयोजना र सम्झौताहरु समेत अघि बढ्न नसकिरहेको अवस्थामा राष्ट्रपति सीले भने योजनाहरु कार्यान्वयन गर्न सफल भएकाले नै चीनले आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएको बताए ।

नेपाली कार्यशैलीलाई संकेत गर्दै सीले जोड दिएर भने, ‘म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडछौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष मनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवार्षिकमा दुई लक्ष्य । यसको पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो पक्ष चाँही ३० वर्षपछि । तर हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्दछ ।’

भ्रमणले नेपाल चीनको मित्रतामा भने थप ईटा थपेकै छ । नेपालप्रति राष्ट्रपतिले सीले देखाएको भावनात्मक सम्बन्ध र नेपालले दिएको सम्मान दुवै प्रशंसायोग्य नै छ । बाँकी, विगत र अहिले भएका सहमति यही सम्बोधनको गतिजस्तै अघि बढ्ला या फेरि सेलाउला, त्यसका लागि भने केही समय धैर्य गर्नैपर्ला ।

 

प्रतिक्रिया दिनुहोस्