२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


कांग्रेस सांसद आलम पक्राउ, व्यक्ति हत्याको आरोप


0
Shares

रौतहट, असोज २६ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो ।

मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ । रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुई नेपाली युवा त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

तर, प्रहरीले आलमविरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गरेको थिएन ।

आलम काँग्रेसका पूर्व जिल्ला सभापति र पूर्व वनमन्त्री पनि हुन् ।