२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिनियाँ राष्ट्रपतिको भ्रमणः ‘छाया सरकार’का परराष्ट्रमन्त्री यसो भन्छन्


0
Shares

सरोज अधिकारी (इमेज)

काठमाडौं, असोज २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा नयाँ विषय उठाउनुभन्दा पुराना सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताएको छ ।

यसअघि, राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण गर्दा भएका सहमति नै कार्यान्वयन नआइरहेका बेला रेलकाबारेमा फेरि नयाँ सम्झौता गर्ने कुरा अर्थतन्त्रका दृष्टिबाट उपयुक्त नहुने कांग्रेसको तर्क छ ।

गत जुन २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा नेपालको विकासमा सहयोग गर्नेगरी नेपाल चीनबीच १४ बुँदे सहमति भएको थियो ।

त्यसपछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण हुँदा थप केही सहमतिहरु भए । तर, त्यसबेला भएका अधिकांश सहमतिहरु कार्यान्वयन भएका छैनन् ।

काठमाडौं–रसुवागढी सडक स्तरोन्नति, कर्णाली करिडोर, हिल्सा पुल निमार्णको काम केही अघि बढेपनि मूलभूत कामहरु अघि बढ्न सकेका छैनन् ।

सहमति भएकामध्ये ‘बीआरआई’, ऊर्जा र ‘बेल्ट एन्ड रोड’लगायतका सम्झौताहरु कार्यान्वयनमा आउन सकेका छैनन् । यसमा चीन सरकारमात्र होइन, नेपाल सरकार पनि त्यत्तिकै दोषी छ ।

फेरि, यहीबीचमा चिनियाँ राष्ट्रपति सीको बहुप्रतिक्षीत भ्रमणकाक्रममा नयाँ विषयमा सम्झौताको कुरा उठेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीको भ्रमणको स्वागत गर्दै नयाँ विषय भने नउठाउन भनेको छ ।

‘छाया सरकार’का परराष्ट्रमन्त्री कांग्रेस नेता डा. नारायण खड्का भ्रमणकाक्रममा नयाँ कुरा माग्नभन्दा पनि पुराना सहमति कार्यान्वयनका विषयमा भ्रमणकेन्द्रित हुनुपर्ने सुझाव दिन्छन् ।

सी भ्रमणसँग जोडिएको मुख्य विषय केरुङ–रसुवागढी रेलवे निर्माण हो । तर, नेपालमा यसको उपदेयताकाबारेमा तीव्र बहस छ ।

चीनसँग नेपालको व्यापार घाटा खर्बौं छ । चीनसँग जोडिएका रोडहरुबाटै वस्तु आयत–निर्यात लागि नेपालको वर्तमान अर्थ व्यवस्था अनुकूल नभइरहेका बेला रेलवेबाटै हुने आयत–निर्यात कत्तिको उपयुक्त होला ? बरु, रोडको सुधार र नाकाहरु थप आवश्यक छ भन्नेमा विज्ञहरुको मत छ ।

चिनियाँ रेल नेपाल आउने कुरा स्वागतयोग्य रहे पनि त्यसमा नेपालले ऋणमा लगानी गर्ने हो भने नेपालको अर्थ व्यवस्था थप नकारात्मक हुने चिन्ता पनि छ ।

चिनियाँ ऋणका कारण केन्या, घाना, मालदिभ्सलगायतका देशमा अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा ऋणमा रेलवे निर्माणको सम्झौता गर्न नहुने धारणा राख्छन्, कांग्रेस नेता खड्का ।

सामान्यतः पाहुना घरमा आउँदा सकभर भव्य तरिकाबाट स्वागत गर्नु नेपाली संस्कार नै हो ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि गरिएको सुरक्षा तथा स्वागतको तयारी नकारात्मक नभएपनि भ्रमणकाक्रममा हुने सन्धि–सम्झौताहरु भने पारदर्शी र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी हुनु आवश्यक छ ।