फोटो खिच्नेक्रममा खोलामा खसेर युवती बेपत्ता • Image Khabar Image Khabar


फोटो खिच्नेक्रममा खोलामा खसेर युवती बेपत्ता


Imagekhabar
२० आश्विन २०७६, सोमबार १०:१६

फोटो खिच्नेक्रममा खोलामा खसेर युवती बेपत्ता

गलकोट, असोज २० । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्नेक्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छन् ।

जिल्लाको तमानखोला गाउँपालिका–४, लाम्मेला घर भइ हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी सिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुन्ड घाट पुलदेखि करिब ३० मिटर तल खोलाको ठूलो ढुंगामा उभिएर फोटो खिच्नेक्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन् ।

खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवा–आमासँगै दसैं मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए ।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्नेक्रममा सिर्पाली चिप्लेर खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ ।

खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजीकार्य जारी राखे पनि फेलापार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

सिर्पालीलाई खसेको ठाउँबाट करिब ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्