अन्ततः महराविरुद्ध रोशनी पुगिन् प्रहरीकोमाः बलात्कारको प्रयास गरेको भन्दै दिइन् उजुरी • Image Khabar Image Khabar


अन्ततः महराविरुद्ध रोशनी पुगिन् प्रहरीकोमाः बलात्कारको प्रयास गरेको भन्दै दिइन् उजुरी


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १४:४६

अन्ततः महराविरुद्ध रोशनी पुगिन् प्रहरीकोमाः बलात्कारको प्रयास गरेको भन्दै दिइन् उजुरी

काठमाडौं, असोज १८ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले अन्ततः प्रहरीमा उजुरी दिएकी छिन् । आफुमाथि महराले बलात्कार प्रयास गरेको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा आफूलाई बलात्कारको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै महराविरुद्ध शुक्रबार उजुरी दर्ता गराएकी हुन् ।

प्रहरीले भने अदालत खुलेलगत्तै अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

असोज १२ गते आइतबार राति आफ्नै कोठामा महराबाट आफुमाथि बलात्कारको प्रयास भएको र कुटपीटसमेत गरिएको भन्दै पीडित शाहीले सोमवार ‘हाम्रा कुरा डटकम’ लाई बताएपछि घटना सार्वजनिक भएको थियो ।

शाहीले यस्तो बताएलगत्तै नेकपाको सचिवलाय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो । तर महराले सभामुखबाट राजीनामा दिएपनि सांसद पदबाट भने अझै पद त्याग गरेका छैनन् ।

सभामुखबाट राजीनामा दिएलगत्तै पीडित शाहीको बयान फेर्न महरापक्षले ठूलै कसरत गरेको देखिएको थियो । अघिल्लो दिन महराले आफुलाई बलात्कार गरेको भनेकी शाहीले भोलिपल्ट महरा पक्षका तीब्र दबाबमा उक्त दिन महरा आफ्नो कोठामै नआएको बताउन बाध्य पारिएकी थिइन् ।

अझ उनलाई तीनकुने प्रहरी वृत्तमा लगेर महराबाट आफुमाथि केही नभएको भन्दै निवेदन दिन लगाइएको थियो । रोशनीलाई उनका पतिले छोडपत्रका लागि सहमति गरेको भन्दै पत्र सार्वजनिक गरेका थिए ।

तर शुक्रवार फेरि प्रहरीसमक्ष उनले उजुरी दर्ता गराएकी हुन् । उनको उजुरीसँगै महरामाथि छानबिन गर्न प्रहरीलाई सजिलो भएको छ । यसअघि पीडितको उजुरी नआएको र महराबाट आफुलाई केही नभएको भन्ने निवेदन परेकाले कार्वाही गर्न नसकिएको प्रहरीले बताएको थियो । 

यद्यपि घटना भएको तेस्रो दिन असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएको भनिएको रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान बरामद गरेको थियो ।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने त्रिवि शिक्षण अस्पतालमा रोशनीको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्