
काठमाडौं, असोज १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिक र बालबालिकाहरुमा मानसिक समस्या बढ्दै गएकाले त्यसमा परिवार, समाज र राष्ट्रले ध्यान दिनुपर्ने बताएकी छन् ।
अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले सन्तानले बेवास्ता गर्दा नै वृद्धावस्थामा धेरैमा मानसिक स्वास्थ्यको समस्या देखिएको बताइन् ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले विभिन्न समस्या भइ सडकमा रहेका महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई आफूहरुले सात वर्षदेखि आश्रय दिइरहेको बताए ।
मानव सेवा आश्रम नामक संस्थाबाट ८३० जनालाई आश्रय दिएको र यो संस्था देशका १६ स्थानमा रहेको जानकारी उनले दिए ।
कार्यक्रममा मनोविद् गोपाल ढकालले मानसिक स्वास्थ्यको समस्यालाई साझा सकोकारको विषय बनाउनुपर्ने भन्दै विद्यालय तहदेखि नै मानसिक स्वास्थ्य विषयमा पठनपाठनसमेत गराउनुपर्ने बताए ।
कार्यक्रममा मानसिक स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो । इमेजकर्मी प्रज्ञा तिमल्सिनालाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्