
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताउनुभएको छ ।
माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताउनुभएको हो ।
अध्यक्ष दाहालले अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरूकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्याउन सफल भएको बताउनुभयो । जसपाका नेताहरूसँग पनि माओवादीको वेभलेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताउनुभयो ।
यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो ‘मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिँ हामीहरू र नेकपा एमाले भित्रको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथि आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो ।उतापट्टिको भए पनि । त्यो लभ त गएको छैन नी । अर्कोले डिभोर्स गरिदिए पनि । ‘
उहाँले थप्नुभयाे, ‘अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ । अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो । त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ । जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ ।’
उहाँले भन्नुभयो, ‘मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मुलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पु¥याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’
अध्यक्ष दाहालले केही दिनमै नयाँ सरकार बन्ने दाबीसमेत गर्नुभयो । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहको बैठक सकारात्मक भएको बताउँदै कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टी एकता गरेर आफूले गल्ति नगरेको भन्दै अध्यक्ष दाहालले ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ति भएको स्वीकार गर्नुभयो । दुई पार्टीको बिचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिँदा अहिलेको अवस्था आएको उहाँको भनाइ थियो । अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइदिए पनि कम्युनिस्ट एकता अहिलेको आवश्यकता भएको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्