
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ९ । कैलालीको गोदावरी नगरपालिकामा एक बालिकाको मृत्यु रहस्यमय बनेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर–९, धनचौरीमा १० महिने बालिका बुधबार बिहान घरमै मृत फेलापरेकी हुन् ।
धनचौरीका हर्कराज जोशी र तारा जोशीकी १० महिने छोरी डम्बरा मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।
आफ्नै छोरीको हत्या गरेको आशंकामा प्रहरीले डम्बराका बुवाआमालाई पक्राउ गरेको छ ।
मृतक डम्बराकी हजुरआमा काठमाडौं बस्ने सुनकलाले आफ्नी नातिनीको हत्या गरिएको भन्दै प्रहरीलाई खबर गरेपछि घटना रहस्यमय बनेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन ठकुरीले छोरीको हत्या गरेको आशंकामा अनुसन्धानका लागि बुवाआमालाई नियन्त्रणमा लिएको बताए ।
तर, हर्क र ताराले छोरी हत्याको आरोप अस्वीकार गरेका छन् ।
बालिकाको शरीरमा कुनैपनि चोटपटक नलागेको बताउँदै प्रहरी निरीक्षक ठकुरीले शवको परीक्षणपछिमात्र विस्तृत् कुरा थाहा हुने बताए ।
डम्बराकी आमा ताराले यसअघि पनि आफ्ना दुई सन्तानको हत्या गरेको डम्बराकी हजुरआमा सुनकलाले आरोप लगाएकी छन् ।
ताराका श्रीमान् हर्क सुस्त मनस्थितिका रहेको स्थानीय बासिन्दाको भनाइ छ ।
मृतक बालिकाको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्