२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


धादिङमा दुईजनाको हत्या आरोपमा ३१ जना पक्राउ


0
Shares

धादिङ, साउन ८ । दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, लतावबाट मंगलबार ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ ।

गाउँवासीको कुटपिटबाट दुईजनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।

घटनामा गंगाजमुना गाउँपालिका–२, लतावका ६५ वर्षीय साहिँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो ।

गाउँमा मृत्यु भएका केही व्यक्ति आफूले मन्त्र गरेर मारेको, गाईवस्तुलाईसमेत मन्त्र गर्ने गरेको र झाँक्री मन्त्रबाट मानिसलाई बच्चा पाउने/नपाउनेसमेत बनाउनसक्ने भन्दै गाउँवासीलाई तर्साएपछि सिंहबहादुर तामाङका घरमा किरिया समापनको कार्यक्रम हुँदैगर्दा उनीहरुमाथि कुटपिट गरिएको थियो ।

गत असार ५ गते कुटपिट गरी गाउँमै बाँधेर राखिएका दुवैजनालाई गाउँवासीले असार ६ गते गाउँवासीसँग छलफल आयोजना गरी पुनः कुटपिट गरिएको थियो ।

घटनापछि दुवैको मृत्यु भएको र मृत्युपछि गाउँवासी मिलेर गाउँमा अन्य गाउँको मानिस आउन प्रतिबन्ध लगाइ मृतकलाई डाँडामा लगेर जलाएका थिए ।

जलाइएको ठाउँमा प्रहरीले अनुसन्धान गर्दा अँगार र केही हाड बरामद गरेको छ ।

साहिँला झाँक्री काम गर्दैआएका व्यक्ति तथा नरुङ झाँक्रीको सहयोगी थिए ।

हिरासतमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ । घटनामा छानबिनपछि संलग्न नभएकालाई छाडिने प्रहरी नायब उपरीक्षक केसीले बताए । रासस