२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उपचारबाट फर्केको लामो समयपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा सहभागी


0
Shares

काठमाडौं, असोज १ । सिंगापुरमा दुई साता लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पहिलोपटक दुईओटा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओली बुधबार बिहान संसद भवन निर्माणकार्यको शिलान्यास गर्न सिंहदरबार परिसर पुगे भने राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा पनि सहभागी भए ।

गएको भदौ २० गते सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारमै आराम गर्ने गरेका छन् ।

स्वदेश फर्किएपछि उनले बालुवाटारमै पार्टीको सचिवालय बैठक राखे भने एकपटक प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर नेपाल–भारत पेट्रोलियम पाइपलाइनको सुरुआत गरे ।

बाँकेमा नेपाली कांग्रेसका जिल्ला सभापतिमाथि भएको आक्रमणबारे प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापतिसहितको टोलीलाई बालुवाटारमा भेटे ।

उपचारबाट फर्किएका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले सकेसम्म बाहिरका कार्यक्रमहरुमा नजान, धुवाँ–धुलोबाट जोगिन र धेरै मानिस भेला हुने स्थानमा नजान सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।

चिकित्सकहरुको सुझावअनुसार नै प्रधानमन्त्री ओलीले अत्यावश्यक मानिससँगमात्रै भेट्ने गरेको पनि स्रोतले जानकारी दियो ।

त्यहीबीचमा प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पनि पुगे ।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमहरुमा नदेखिएपछि सामाजिक सन्जालमासमेत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सोधखोज हुन थालेको थियो ।