
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहेपनि त्यसको प्रभावबाट बच्न नसकेको बताएका छन् ।
आगामी चैत्रमा हुन लागेको सगरमाथा संवाद सम्बन्धि परामर्श गोष्ठीलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले पर्वतीय वातावरणमा देखिएको परिवर्तनले विश्वलाई नै चुनौती दिएको बताए ।
पर्वतीय क्षेत्रमा बसोबास गर्नेदेखि टापु राष्ट्रहरुसमेत यसको प्रभावमा पर्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।
त्यसैले सगरमाथा संवादको पहिलो संस्करणले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका विषयमा नवीन तथा दिगो उपायहरुको पहिचान हुने आशा गरिएको उनले बताए ।
सरकारले नेपालको राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रिया लगायतका क्षेत्रमा हासिल गरेको उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यका सगरमाथा संवाद गर्ने निर्णय गरेको हो ।
त्यसै अनुरुप आगामी चैत्र २१ र २२ गते सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरेको छ ।
पहिलो संस्करणमा जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातीको भविष्य शीर्षकमा छलफल गरिने आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्