२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेवा प्रवाह ढिला भएको भन्दै सुर्खेत मालपोत कार्यालय घेराउ, कर्मचारीले रोके काम


0
Shares

मानबहादुर वली
सुर्खेत । मालपोत कार्यालय सुर्खेतको सेवा ठप्प भएको छ । छिटो छरितो सेवा प्रवाह गर्न नसकेको भन्दै सेवाग्राहीले मालपोत कार्यालय घेराउ गरेपछि कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोके पछि सेवा प्रवाह रोकिएको हो ।

केहि दिन अघि कर्मचारीको मिलेमतोमा जग्गा धनीलाई थाहै नदिइ अर्कैको नाममा जग्गा नामसारी गरिदिएको आरोपमा एक कर्मचारीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिए पछि मालपोत कार्यालय सुर्खेतका धेरैजसो कर्मचारी बिदामा बसेका छन् ।

जग्गा किनबेचको अनुसन्धानमा तानिन सक्ने मनोवैज्ञानिक त्रासले कर्मचारी बिदामा बस्दा एउटै कर्मचारीले धेरै फाटमा काम गर्नुपर्ने अवस्था रहेको कर्मचारीले बताएका छन् । बुधबार विहानै सेवाग्राहीले सेवा प्रवाहमा ढिलासुस्ती भएको आरोप लगाउदै कार्यालय घेराउ गरेका थिए ।

कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै काम रोकेका छन् । यता सेवाग्राहीले सामुहिक रुपमा सेवा प्रवाहलाई छिटो छरितो र सकेसम्म एकै दिनमा काम सक्ने वातावरण बनाउन माग गरेका छन् ।

करिव एक साता यता कार्यालय प्रमुखको सरुवा भएको कारण कर्मचारीले कार्यालय प्रमुखलाई सहयोग नगरेको आरोप लगाएका छन् ।

जग्गा रोक्का, कित्ता काट, नामसारी लगायतका सेवाका लागि आएका सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्नु पर्ने समस्या रहेको छ । कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन टोकन प्रणाली लागू गरेपनि निरन्तरता दिन सकेको छैन ।

सेवाग्राहीले लामो समयदेखि पालो कुरेर बसेपनि बिचौलियाले एकै दिनमा काम सक्ने सेवाग्राहीको गुनासो छ । (भिडियो हेर्नुहोस्)