Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


आन्दोलन निर्वाचनका लागि हो : मन्त्री गुरुङ


0
Shares

काठमाडौं, पुस २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सडकमा देखिएको आन्दोलन दलहरुको मध्यावधी निर्वाचनको तयारी भएको टिप्पणी गर्नुभएको छ ।

वडा तहसम्म कार्यक्रम गरेर प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले चुनावको तयारी गरिरहेको भन्दै मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन हुन नसक्ने ठोकुवा गर्नुभयो ।

कृयाशील दलित पत्रकार संघ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुष्पकमल दाहालले द्वन्द्वकालमा जस्तै नेता माधव नेपालको ढाडमा टेकेर प्रम ओलीको टाउकोमा हान्ने रणनीति अख्तियार गरेपनि त्यसलाई सफल हुन नदिने बताउनुभयो ।

प्रतिनिधि सभा विघटनको विरुद्ध पत्रकारहरुले समाचार प्रकाशन प्रशारण गरेको भन्दै मन्त्री गुरुङले विरोधका लागि मात्र सरकारको विरोध नगर्न तथा परिस्थिती अनुकुल कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले सञ्चारगृहमा दलित पत्रकारहरुको समावेशी सहभागिता वृद्धि तथा सामाजिक सुरक्षाको ग्यारेण्टी गर्न माग गरेका थिए ।

कार्यक्रममा पत्रकारहरु कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा तथा प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा समता फाउण्डेसनको ‘दलित समुदायमा कोभिडको प्रभाव’ नामक पुस्तक विमोचन गरिएको थियो ।