३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको थप आन्दोलनका कार्यक्रम घोषणा, कहिले के हुन्छ ?


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध पुस २५ देखि माघ ८ गतेसम्मका लागि सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गर्ने, माघ ३ गते नगर तथा गाउँ पालिका र माघ ८ गते सम्पूर्ण वडाहरुमा विरोध प्रर्दशन गर्ने भएको छ । बैठकले भातृसंगठन तथा शुभेच्छुक संस्था र जिल्ला कार्य समितिहरूलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

यस्तै, बैठकले क्रियाशिल सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्म पुर्याएको छ । फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन तोकेको कांग्रेसले यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तसम्म तोकेको थियो । बैठकले महाधिवेशनका सन्र्दभमा अन्तरपार्टी समायोजन समितिले बुझाएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

त्यस्तै प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्ष वा सर्वोच्च अदालतको आदेश कुर्ने विषयमा पार्टीभित्र दुई फरक लाइन देखिएको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै कांग्रेसले पार्टीको आधिकारीक निर्णयलाई आधार मानेर मात्र समचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।