काठमाडौं, साउन ५ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनशनरत् डा. गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।
शनिबार डा. केसी समर्थकले गरेको दबाबमूलक प्रदर्शनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो ।
दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह सुरु गर्न लागिएको डा. केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।
प्रदर्शनीमा राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याइ डा. केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो उनको माग पूरा गर्नुपर्ने बताइन् ।
अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए ।
डा. केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनीषा कोइरालालगायत पनि उपस्थित थिए ।
चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. केसीले जुम्लाबाट आमरण अनशन सुरु गरेका थिए ।
स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै सरकारले गत बिहीबार हेलिकोप्टरबाट डा. केसीलाई काठमाडौं ल्याएको थियो । हाल उनी शिक्षण अस्पतालमा २२औं दिनको अनशनमा छन् । यो उनको १५औंपटकको अनशन हो ।
जुम्लाबाट काठमाडौं आएपछि डा. केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइनमात्र लिने घोषणा गरेका छन् ।
यता, डा. केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्