
प्रज्ञा तिमल्सीना (इमेज)
काठमाडौं, पुस ६ । नेपालमा पछिल्लो अवधिमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको पाइएको छ ।
परीक्षण गराउने र उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि घटिरहेको छ ।
मंसिर महिनासम्म दैनिक औसत एक हजार भन्दा बढीमा संक्रमण पुष्टि हुने गरेकोमा पुस महिना लागेसँगै यो संख्या घटेको छ ।
हाल दैनिक सरदर ८ सय जनामा संक्रमण देखिने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
कोरोना परीक्षण गराउनेहरुमा अधिकांश विदेश जानेहरु रहेका छन् ।
७२ घण्टाभित्र २ हजार जना त विदेश जाने व्यक्तिले नै परीक्षण गराउँछन् ।
विज्ञहरु भने कोरोना परीक्षण गराउनको संख्यामै कमी आएकाले संक्रमतिको संख्या कम देखिएको ठान्छन् ।
यसो त दिनहँु पुष्टि हुने संक्रमितको संख्या परीक्षणको तुलनामा १० प्रतिशत भन्दा बढी रहने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले परीक्षण गरिएकामध्ये १० प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भएमा संक्रमणको दर घटेको मान्दैन ।
यस आधारमा हेर्ने हो भने नेपालमा संक्रमणको जोखिम कायमै छ भन्ने बुझिन्छ ।
सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुन नेपालमा संक्रमितको संख्या कम देखिनुमा विभिन्न कारण रहेको औल्याउनुहुन्छ ।
तर संक्रमितको दर घटेसँगै कोभिड अस्पतालहरुमा बिरामीको चाप पनि घटेको छ ।
अन्यत्र मात्र होइन, नेपालमा कोरोना संक्रमण सुरु भएदेखि नै थामिनसक्नु संक्रमितको चाप खेप्दै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि ६० प्रतिशत कोरोनाका बिरामी कम भएका छन् ।
संक्रमितको संख्या र अस्पताल जाने बिरामीको संख्यामा कमी आए पनि घट्दो परीक्षण र स्वास्थ्य मापदण्ड पालनामा कमी आएकाले कोरोनाको अवस्था समाजमा के छ भनेर ठम्याउन मुस्किल भएको डा. पुन बताउनुहुन्छ ।
संक्रमितको संख्या घटेको देखिए पनि कोरोनाकै कारण मृत्यु हुनेको संख्यामा पटक्कै कमी आएको छैन ।
तसर्थ संक्रमितको संख्या घट्यो भन्दैमा कोरोनाको खतरातिर ध्यानै नदिनु हरेक नागरिकका लागि घातक सिद्ध हुन सक्नेतर्फ सचेत रहनु पर्दछ ।
भिडियो हेर्नुहोस्
भिडियो : रक्षा बज्राचार्य
प्रतिक्रिया दिनुहोस्