विश्वमै दुर्लभ एकसिंगे गैंडा जोगाउन चुनौती « Image Khabar


विश्वमै दुर्लभ एकसिंगे गैंडा जोगाउन चुनौती


डोलराज रानाभाट (इमेज)
२६ मंसिर २०७७, शुक्रबार १५:५०

चितवन, मंसिर २६ । विश्वमै दुर्लभ एकसिंगे गैंडा जोगाउन चुनौती देखिएको छ ।

सन् २०१५ मा गैंडा गणना गर्दा नेपालभर ६४५ गैंडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ थिए ।

पछिल्लो समय गैंडा गणना त भएको छैन । तर पनि १५७ ओटा गैंडा मरिसकेको तथ्यांक छ ।

वि.सं. २०३० साल असोज ४ गते चितवन राष्ट्रिय निकुञ्जको स्थापना भयो । विश्वमै दुर्लभ एकसिंगे गैंडाको मुख्य बसोबासस्थल हो, चितवन राष्ट्रिय निकुञ्ज ।

विश्वभर हुने पाँच प्रजातिका गैंडामध्ये एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । सन् २०१५ मा गरिएको गणनाअनुसार नेपालभर ६४५ गैंडामध्ये ६०५ यही निकुञ्जमा रहेको पाइएको थियो ।

तर, चालू आर्थिक वर्षको मंसिर २३ सम्म आउँदा १७ ओटा गैंडा मरिसेकका छन् । जसमध्ये चारओटा तस्करहरुको निसानामा परे । गैंडा गणनापछिका दिनमा १५७ ओटा गैंडा मरेको तथ्यांक निकुञ्जसँग छ ।

घना जंगल, सीमित कर्मचारी, गैंडा बासस्थानको व्यवस्थापनमा बजेट अभाव, चोरी–सिकारी र अतिक्रमणलगायतका कारण गैंडा जोगाउन चुनौती थपिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभएको छ ।

निकुञ्ज स्थापनापछि गैंडा जोगाउन सफल भएको भन्दै केही वर्ष शून्य चोरी–सिकारी वर्ष पनि मनाइएको थियो । तर, फेरि तस्करहरु गैंडा मार्न सक्रिय भएपछि निकुञ्जले आफ्नो सक्रियता बढाएको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले नारायणी नदीमा आउने बाढी, कोरोना महामारी, प्रविधिजन्य उपकरणमा आएको खराबीले थप चुनौती थपिएको बताउनुभयो ।

तर, अहिले विस्थापित पोस्टहरु थपेर निगरानी बढाएको बताउँदै संवेदनशील स्थानको पहिचान गरेर थप ‘अप्रेसन’हरु चलाइएको उहाँको भनाइ छ ।

तस्कर नियन्त्रणको पाटोसँगै गैंडाका लागि आवश्यक घाँसेमैदान, पोखरी निर्माण र ताल मर्मतको कामलाई पनि निकुञ्जले तीव्रता दिएको छ ।

घाँस र पानीको खोजीमा बस्तीतिर जाने र द्वन्द्व बढ्नसक्ने जोखिमलाई ध्यान दिएर काम सुरु भइसकेको सहायक संरक्षण अधिकृत शिवलाल गैरेले बताउनुभयो ।

कुनै समय एकै वर्षमा ३७ ओटा गैंडा तस्करहरुले मारेको रेकर्ड भएको निकुञ्जमा त्यो अवस्था आउन नदिन सरकारले पनि विशेष चासो दिन जरुरी रहेको छ ।

केही दिनअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पनि गैंडा संरक्षणमा चासो देखाउँदै छलफल गरेर गएको छ ।

गैंडा हेर्नैका लागि विश्वभरका पर्यटक उत्रने चितवनमा यसको संरक्षणमा गम्भीर भएर लाग्नुको विकल्प देखिँदैन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्