१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


केपी ओलीमाथि रामचन्द्र पौडेलको गम्भीर आरोप, हत्या मुद्दामा जेल परेकाले लोकतन्त्रको मर्म बुझेनन्


0
Shares

congress ramchandra poudel blame to prime minister kp oli

काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ ।

ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको गम्भीर आरोप नेता पौडेलले लगाउनुभएको हो ।

तनहुँको ब्यासमा बुधबार नेकपा कार्यकर्ताको विरोधका कारण पुल उद्घाटन गर्न नदिएको र प्रहरीले धरपकडसमेत गरेकामा आक्रोशित पौडेलले बिहीबार त्यहीँ कार्यक्रम गर्दै ओलीमाथि व्यक्ति हत्यामा जेल बसेकाले लोकतन्त्रको मर्म नबुझेको बताउनुभएको हो ।

नेता पौडेलले कम्युनिष्टहरू लोकतन्त्रवादी हुनै नसक्ने जिकीर गर्दै ओली झापा काण्डमा व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको र अझै नसुध्रेको टिप्पणी गर्नुभयो ।

पौडेलको भनाइ थियो, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर ? ज्यान मुद्दामा बसेको हो । कहाँबाट लोकतन्त्रका लागि बसे ? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन ।’

पौडेलले थप्नुभयो, ‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो । जोशमा आएर झापा काण्ड घटिहाल्यो । यो लोकतन्त्रका लागि हो ? म मान्दिनँ । केपी ओली मेराअगाडि कुरा गरूँन् ।’

प्रधानमन्त्री ओलीमाथि आरोप लगाउँदै नेता पौडेलले बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे राष्ट्रवादको हिरो बन्न खोजेको बताउनुभयो । उहाँले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएकाले लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको शुरुवात भएको पनि पौडेलको भनाइ थियो ।

भारतीय गुप्तचरसँग तीन/तीन घण्टा गोप्य मन्त्रणा गर्ने ओलीले राष्ट्रवादको कुरा गर्न नसुहाउने पनि उहाँको टिप्पणी थियो ।

बुधबार उद्घाटन गर्न नपाएको व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल पौडेलले बिहीबार उद्घाटन गर्नुभएको हो ।

नेकपा कार्यकर्ताले भने पुल आफ्नै नेताले उद्घाटन गर्नुपर्ने भन्दै पौडेललाई गर्न नदिने बुधबार प्रदर्शन गरेका थिए ।

नेकपाले गर्न नदिने र कांग्रेसले नगरी नछोड्ने भएपछि जिल्ला प्रशासन कार्यालयले भने निषेधाज्ञा जारी गर्दै पौडेललाई हिरासतमा लिएको थियो ।