१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


डा. केसीलाई जुम्लादेखि काठमाडौं ल्याउँदा जे देखियो… (भिडियो)


0
Shares

काठमाडौं, साउन ३ । सरकारले ‘माफियामुखी चिकित्सा शिक्षा विधेयक’ ल्याउन लागेको भन्दै जुम्लामा अनशनरत् डा. गोविन्द केसीलाई सैनिक हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा बसेका डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार साँझ काठमाडौं ल्याइएको हो । उनलाई जुम्लाबाट सुर्खेत हुँदै काठमाडौं ल्याइएको हो ।

डा. केसीलाई लिएर आएको हेलिकोप्टर टुँडिखेलस्थित सैनिकमन्चमा अवतरण गरेको थियो ।

त्यसलगत्तै डा. केसीलाई सैनिक एम्बुलेन्समार्फत् उपचारका लागि वीर अस्पताल लगिएकामा अचानक एम्बुलेन्स मोडेर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो ।

शिक्षण अस्पताल पुर्‍याएपछि डा. केसीलाई आइसीयुमा लैजाने प्रयास गरिएको थियो ।

तर, डा केसीले आइसीयुमा जान पनि नमानेपछि उनलाई उनी पहिले अनशन बस्ने गरेको इएनटी भवनमा लगिएको छ ।

यसअघि, डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर बिहीबार बिहानै जुम्ला पठाइएको थियो । तर, डा केसीले काठमाडौं आउन अस्वीकार गरेका थिए ।

त्यसक्रममा डा. केसीका समर्थक र प्रहरीबीच अस्पतालभित्रै झडपसमेत भयो ।

झडपकाक्रममा प्रहरीले प्रदर्शनकारीमाथि हानेको गोली लागेर प्रहरीजवान कमल आचार्य घाइते भएका छन् । चिन्ताजनक अवस्थामा रहेका उनलाई अर्को हेलिकोप्टरमार्फत् थप उपचारका लागि काठमाडौंतिर ल्याइएको छ ।

झडपकाक्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोलीसमेत चलाएको थियो । प्रहरीले अस्पतालभित्रै पसेर लाठीचार्ज र गोली चलाएको थियो ।

त्यसपछि प्रहरीले डा. केसीलाई जर्बजस्ती अस्पतालबाट निकालेर स्कर्टिङमार्फत् नेपाली सेनाको भगवती दल गणमा लगेको थियो ।

डा. केसीलाई स्कर्टिङमार्फत ल्याउनेक्रममा जुम्लाबासीले बाटोमै प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

यसअघि, बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्दी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अपहरणको शैलीमा डा. केसीलाई काठमाडौं लैजान खोजिएको भन्दै विरोधमा उत्रेकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रतिष्ठानभित्रै पसेर प्रहरीले हस्तक्षेप गर्दा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित दुई दर्जनबढी घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको छ । केही प्रहरी पनि घाइते भएका छन् ।

प्रहरी हस्तक्षेपकाक्रममा प्रतिष्ठानका सिसा फोडिनुका साथै एक करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

भिडियो हेर्नुहोस्