मल्लकालीन समयका सय वर्ष पुराना घर जिर्ण बन्दै, संरक्षणको पर्खाइमा • Image Khabar Image Khabar


मल्लकालीन समयका सय वर्ष पुराना घर जिर्ण बन्दै, संरक्षणको पर्खाइमा


ध्रुवसागर शर्मा
४ मंसिर २०७७, बिहीबार १३:२५

मल्लकालीन समयका सय वर्ष पुराना घर जिर्ण बन्दै, संरक्षणको पर्खाइमा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका गौश्वारामा रहेका मल्लकालीन वास्तुकलामा निर्माण भएका घर जिर्ण बन्दै गएका छन् ।

थातथलो छाडेर बसाँईसराई गर्ने क्रम बढेपछि एक सय वर्षभन्दा पुराना घरहरु अहिले जिर्ण बन्दै छन् ।

वसाइसराई र शहर केन्द्रित हुने प्रवृतिका कारण अहिले ती घरहरु जीर्ण अवस्थामा पुगेका हुन् ।

सिर्मु र सालका काठका कलात्मक बुट्टाले भरिएका दलिन र टुडाल समेत रहेका ती घरहरुमा आँखी झ्याल, फलाँटे ढोका रहेका छन् भने गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।

गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्ववम मल्लको स्वामित्वमा रहेका घरहरु करिब एक सय वर्ष पुराना घरहरु भएको स्थानीय बुद्धिजिवी रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

यी घरहरुको इतिहाँस मल्ल वंशीय राजखलक र राणा खलकसंग जोडिएको छ । तत्कालिन मल्ल ठकुरीहरु जुम्लाको सिंजा उपत्यकाबाट वसाई सरी यहाँ आएको मानिन्छ ।

यहाँ आएपछि काठमाण्डौंमा रहेका मल्ल र राणाहरुसंग यहाँका ठकुरीहरुको वैवाहिक सम्वन्ध गासिएको र त्यसै क्रममा एक ठाउँको कला र संस्कृति पनि स्थानान्तरण हुँदै गएको अनुमान गरीएको छ ।

यहाँ लामो समयदेखि बस्दै आउनुभएका परमेश्वरवम मल्लले यी घरहरुसंग आफ्नो पुर्खाको पहिचान जोडिएकोले सुरक्षित राख्न आवश्यक रहेको बताउनुभयो ।

कतिपय भने काठमाडौ ,चितवन, पोखराजस्ता शहरहरुमा बसाई सरेको भए पनि कतिपय पुर्खाको विरासतलाई संरक्षण गरेर थातथलो रुङेर बसी रहेका छन् ।

ढुङ्गाले छाएका, कौसी सहितका तीन तल्ले आकर्षक घर अहिले जीर्ण अवस्थामा रहेका छन् ।

गौश्वारा गाउँमा अहिले सम्म पनि रहेका मल्लकालीन वास्तुकलाका पाँचवटा घरहरुमध्ये दुई घरमा मात्रै वसोवास रहेको छ भने तीनवटा घरहरु जीर्ण अवस्थामा छन् ।

त्यसैले पनि यस्ता पुराना कलात्मक घरहरुको संरक्षण गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्