तिहारको तरङ्गमा बहकिँदा • Image Khabar Image Khabar


तिहारको तरङ्गमा बहकिँदा


Imagekhabar
३० कार्तिक २०७७, आईतवार १८:३१

Thar article Dilli basel

डिल्ली बसेल ।

कोरोना कहरकाबीच गाउँ शहर जताततै तिहारले छोपेको छ । कोरोनालाई छल्दै पर्व मनाउने क्रम पनि चलिरहेको छ । म भने जब जब चाडवाड आउँछन् तब जन्मस्थानको सम्झनामा हराउने गर्दछु । जन्मस्थानमा बिताएको भन्दा झण्डै डेढी समय काठमाडौंमा बिताउँदा पनि दशैं, तिहार जस्ता ठूला चाडवाडमा मात्रै होइन माघे सक्रान्तीदेखि साउने सक्रान्तिसम्मका पर्वको बेला म अति नै नोस्टाल्जिक बन्ने गर्छु ।

नोस्टाल्जियामा रुमल्लिँदा तिहार पर्वले विशेष सताउने गर्दछ । पर्वत पैंयुँ क्षेत्रको चिन्नेखर्क गाउँमा ७० घर मगर वस्तीको सिरानमा रहेको सिमलापाटा नामको थाप्लोमा हामी बाहुनहरुका दश बाह्र घर थिए । तै पनि सिमलपाटाले छुट्टै परिचय बनाएको थियो । वरपरका गाउँलेहरु भन्ने गर्थे “हुँदैन रमाइलो सिमलपाटा नगई त फलानो मान्छे (जल्दोबल्दो युवक वा युवतीको नाम) नभई त” ।

तिहार पाँच दिन मनाउने भए पनि गाई तिहार (औंसी) देखि हामी केटाकेटीहरुलाई तिहार लाग्थ्यो । गाई तिहारको दिन एकाविहानै आमा, दिदी बैनी र भाउजुहरु ढिकीमा पिठो कुट्न हतारमा हुन्थे । बारीबाट भर्खर निकालेको नयाँ बेसारको ठुँडो मिसाएर पिठो कुट्ने भएकाले ढिकीका ओखल वरपर त्यसदिन पँहेलै हुन्थ्यो । ताजा घ्यु, ताजा पिठो र पँहेला रोटी चिउरीको पातका टपरीमा खानुको स्वाद असीम हुन्थ्यो । गाई तिहारको दिन चिउरीको पातको मात्रै दुना टपरी बनाउने चलन थियो ।

गाई पूजा गरेपछि गोरु सिंगार्ने चलन हुन्थ्यो । जुरोमा तेल र शरीरमा पिठोको छाप हानेका गोरु त्यस दिन एकैछिन भएपनि फुकाएर अरुलाई देखाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । गाई तिहारको अर्को आकर्षण हुने गथ्र्यो गोठबाट तान्ने तोरण । खरको डोरीमा थरीथरीका फूल उनेर गोठको धुरीदेखि खेतबारीका रुखका हाँगामा लगेर बाँध्ने तोरण कस्को कति लामो भन्ने होड पनि हुने गथ्र्यो । जसको घरमा महिला जाँगरिला छन् उनीहरुका तोरण लामा हुन्थे ।

भाइ टीकाको दिन भने एकाविहानै घाँस काट्न जानु पर्दा अलि कष्टकर हुन्थ्यो । भाइ टीकाको दिन आईमाईले फलाम छुन हुँदैन भन्थे । फलामै छुन नभएपछि आमा, दिदी, भाउजु कसैले घाँस काट्ने कुरा भएन । अघिल्लो दिनको घाँसले नपुग्ने भए डालेघाँस काटेर झारा टार्ने कोशिस गर्थे लोग्ने मान्छेहरु । घरका महिलाहरुले एक दिन एउटा मात्रै काम नगर्दा कति अप्ठेरो हुन्छ भनेर बुझ्न भाइ टीकाको दिन सम्झिए पुग्थ्यो ।

भाइ टीकाको दिन आँगनमा एकातिर गुन्द्रीमा दरी काम्लो बिछ्याएर फूपूहरुले बाहरुलाई टीका लगाईदिन्थे भने अर्कोतिर दिदीहरुले हामी दाजुभाइलाई । दिदीहरुले सबैभन्दा पहिले ढोकाको संघारमा ओखर फोरेर त्यही ढोकामाथि टीका लगाएर टीकाको शुरुवात गर्थे । ढोकामाथि टाँगिएका फोटामा परदेशमा रहेका दाजुभाइलाई टीका लगाईदिन्थे । परदेशमा रहेका दाजुभाइलाई फोटोमा टीका लगाउँदा लगाउँदै दिदी बैनीहरु भक्कानिन्थे ।

भक्कानिएका दिदी बैनीका आँसुमा भ्रातृत्व प्रेमको ताप झल्किन्थ्यो । टीका लगाउँदा कुन दिदीले पहिले लगाईदिने कति वटा धर्का लगाउने भन्ने तँछाडमछाड पनि रमाइलो हुन्थ्यो । सप्तरङ्गी टीका लगाएर जोर माला र पगरी लगाइन्थ्यो । पगरीको झुम्कामा गाँसेको गुरदौली (गोदावरी ?) फूलको बास्ना अहिले पनि उसैगरी आउँछ ।

तिहारमा आमा सकेसम्म मामाघर नगईदिए हुन्थ्यो जस्तो लाग्थ्यो । आमा बिनाको एक पल पनि उराठ लाग्थ्यो । म जान्ने भएपछि तिहारमा आमा मामाघर जानेभन्दा मामाहरु नै हाम्रो घर धेरै आएको सम्झन्छु । तिहार नलाग्दै जुवाको खालमा जम्ने एटा मामालाई कुर्दा कुर्दा आमा भने हैरान हुनुहुन्थ्यो । पछि ती मामा मधेश झरेपछि आमाले पनि दिउँसै खाना खान पाउनुभयो । भाइ टीकाको दिन पनि माइत जान नपाएका भाउजुहरु लुकेर पछ्योराले आँसु पुछ्थे । ती भाउजुहरुका निन्याउरा अनुहार सम्झिँदा अहिले पनि मन अमिलो हुन्छ ।

गाईपूजा गरेपछि भैलो खेल्न फुक्थ्यो । देउसी भैलोको तयारी दशैं अघिदेखि नै हुने गर्दथ्यो । यस पटक कुन कुन गाउँमा भैलो खेल्ने कुन कुन गाउँमा देउसी भनेर छुट्याइन्थ्यो । अक्सर हामी भैलो खेल्नका लागि हाम्रो गाउँसँगै जोडिएको स्याङ्जाको पिंडीखोलाका केही गाउँमा जाने गरिन्थ्यो । त्यसो गर्नुको कारण पनि भैलो खेलेर धेरैभन्दा धेरै मकै उठाउने चाहना हुन्थ्यो ताकी त्यो मकै बेचेर आउने पैसाले पछि वनभोज जान पाइयोस । गाई तिहारको दिन प्रसादको लागि मात्रै रोटी पकाउने हुनाले घरपट्टीहरुले भैलो खेल्नेहरुलाई विरलै रोटी दिने गर्थे ।

एक पटक भैलो खेल्दै राती १ बजे पिंडीखोलाको भोर्ले गाउँमा पुग्दा हामी भोकले पूरै लखतरान भएका थियौं । एउटा घरकी बूढी आमासँग मेरो सामान्य चिनाजान रहेछ । “म सिमलपाटा फलानाको छोरो” भनेपछि बूढीआमा उठेर हामीले उठाएको चामल पकाईदिन तयार हुनुभयो । त्यो राती ती बूढी आमाले खुवाएको भात र गुन्द्रुकको स्वाद अहिले पनि जिब्रोमा ताजै छ, जस्तो लाग्छ । बूढी आमाले सिमलपाटाका केटाहरु भनेर होला खान दिने बेलामा तिमरु (बाहुनहरु) यता अगेनापट्टी आओ मगर केटारु मझेरीतिरै बस भनिन् । हामीले भने देउबहादुरलाई देउनारन, टेकबहादुरलाई टेकलाल भन्दै मगर साथिहरुलाई अगेनोमै लगेको ठट्टाको मिठास पनि आज उसैगरी बल्झिन्छ ।

औंसी र त्यसको भोलिपल्ट (गोरु तिहार भन्थे) हामी गाउँभन्दा बाहिर बाहिरै भैलो खेल्ने गर्थेम । दुई दिनमा कति अन्न र कति पैसा उठ्यो भन्ने हिसाब निकालेर भाइटीकाको दिन गाउँमा कतिबेला कहाँबाट देउसी खेल्ने भन्ने तयारी हुने गथ्र्यो । दुई दिनको अनिँदोले गर्दा भाइटीकाको दिन शरीर यति लखतरान हुन्थ्यो कि देउसी भट्याउनु र गाउनु सास्ती झैं लाग्थ्यो । तै पनि करकाप र उमेरको रङ्गले रात कटाइन्थ्यो । टीकाको दिन हाम्रै घरतिरबाट देउसी खेल्न शुरु गर्थेम । खेल्दै झर्दा जति तल झर्यो उति मान्छे घट्थे । जहाँ पुग्दा शरीरले थेग्न छाड्थ्यो त्यतैका पिंढीमा गुन्द्री तानेर सुतिन्थ्यो । मादल मजुरा बजाउने, भट्याउने र गाउने दुई जना बाँकी रहुन्जेल खेलिन्थ्यो ।

भाइ टीकाको दिनको सबैभन्दा ठूलो आकर्षण भने कनौजे जम्दारको आँगनमा खेल्ने पासाको खालको हुने गथ्र्यो । दशैंमा एकै पटक भए पनि पिङमा चढेर भुई छाड्नु पर्ने र तिहारमा एकै हात भएपनि पासा खेल्नुपर्छ भन्ने मान्यता थियो । अरु बेला दहलमारा तास खेल्दा पनि सातो खाने बा आमाहरु तिहारको दिन पासाको खालमा बस्दा पनि केही बोल्दैन्थे । सय डेढ सय मान्छे एउटै जुवाको खालमा बस्ने र कराउने गर्दा कोसौं परसम्म सुनिन्थ्यो । खेलाडीहरु कति सिपालु हुन्थे भने त्रिपासा पल्टिन पाएको छैन उनीहरु मार्यो कि पर्यो भनेर कराईसक्थे ।

उसो त हाम्रो पैयुँमा दशैंको पूर्णिमादेखि फुकेको जुवा ठूला एकादशी (हरिबोधनी एकादशी) पछिको पूर्णिमासम्म चल्ने गथ्र्यो । विहादीदेखि वालिङसम्मका नाम चलेका जुवाडेहरुको खाल जम्थ्यो । फलानोले यति हार्यो रे फलानोले यति जित्यो रे भन्ने हल्ला गाउँमा फैलिन्थ्यो । जुवा खेलाउने पनि निश्चित अखडाहरु हुन्थे । ती तिहारहरुको तरङ्गमा बहिकिंदै गर्दा आजको तिहारको परिवेश हेर्छु, फगत औपचारिकता मात्रै देख्छु ।

प्रतिक्रिया दिनुहोस्