विजय नेपाली, पाेखरा । पोखराको पर्यावरण र सौन्दर्यसँग जोडिएको फिर्केखोला वर्षौँदेखि मानवीय अतिक्रमणको चपेटामा थियो ।
अहिले पोखरा महानगरपालिकाले अतिक्रमण हटाउन थालेपछि खोलाले पूर्नजीवन पाउने मात्रै होइन पोखराबासीको सपनाको रुपमा रहेको फिर्के करिडोरको सपना पनि ब्युँतिन थालेको छ । कलकल बग्ने फिर्के खोला ढलमा परिणत भएको देखेका पोखरावासी अब खोलाले पुनर्जीवन पाउने र आकर्षक करिडोर बन्ने आसामा छन् ।
फिर्केखोला पोखरा महानगरपालिका वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ८, ७, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिन्छ । फिर्केको अतिक्रमण हटाउन महानगरले २०८० सालमै नापजाँच गरी सीमांकनको पोल गाडेको थियो ।
३५ दिने सूचना निकालेर पनि विभिन्न दबाबका कारण महानगर पछि हट्न बाध्य भएको थियो । तर, त्यो प्रयासको ३ वर्षपछि बल्ल पोखरा महानगरपालिकाले फिर्केमा डोजर चलाएर अतिक्रमण खाली गर्न सुरु गरेको छ । अतिक्रमण खाली भएसंगै फिर्के खोलालाई पुरानै प्राकृतिक बहावमा फर्काउने र मोटरेबल सडक होइन, आकर्षक फुटट्रेल, साइकल लेन र पैदल यात्राको गन्तव्यसहितको ’फिर्के करिडोर’ बनाउने योजना अघि सारिएको छ ।










प्रतिक्रिया दिनुहोस्