Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


दाहालले लिखितरुपमै बुझाए ओलीको पत्रको जवाफ


0
Shares

काठमाडौं, कात्तिक २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेन्डा तय गर्दै अर्को बैठक मंसिर ३ गते बस्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका ५ बजेबाट ४० मिनेटका लागि बसेको सचिवालय बैठकले सदस्यहरुलाई राजनीतिक प्रतिवेदनहरु अध्ययनका लागि उपलब्ध गराउँदै समस्या र समाधानका लागि कार्यसूची बनाएर छलफल गर्ने निष्कर्षका साथ बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठकाअनुसार पाँचजना सचिवालय सदस्यले बैठक बस्न आग्रह गरेको पत्र, अध्यक्ष केपी शर्मा ओलीको जवाफपत्र, सचिवालयमा छलफलका लागि अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र स्थायी कमिटीले जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका सदस्यहरुलाई अध्ययनका लागि वितरण गर्दै बैठक टुंगिएको प्रवक्ता श्रेष्ठले बताउनुभएको हो ।

ती सबै सामग्रीहरुको अध्ययन गरेरमात्रै पार्टीमा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष शुक्रबार (आज)को बैठकको थियो ।

यसअघि, यही कात्तिक २२ गते सचिवालयका बुहमत सदस्यले अध्यक्ष ओलीलाई बैठक डाक्न लिखित पत्र बुझाएपछि सचिवालयको बैठक बस्नुअघि अन्य नेतालाई बोधार्थ बनाइ अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष दाहाललाई लिखित पत्र पठाएर आफ्ना ‘हातखुट्टा बाँध्ने र घेराबन्दी गर्ने काम भएको’ आरोप लगाउनुभएको थियो ।

शुक्रबारको बैठकमा अध्यक्ष दाहालले ओलीको पत्रको २२ पेज लामो लिखित जवाफ पेस गर्नुभएको थियो ।

योबीचमा नेताहरुबाट आरोप–प्रत्यारोपका प्रतिवेदन पेस हुन थालेपछि तिनको अध्ययन गरी सचिवालयको कार्यसूची तयका लागि अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभएको हो ।