Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


गोरखामा ओढारमा लुकाएर राखिएको सुन बरामद


0
Shares

गोरखा, साउन ९ । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ ।

चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्गनजिकै ओढारको ढुंगामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन बुधबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

‘यति नै किलो छ भनेर भन्ने अवस्था छैन’–उनले भने–‘शंकास्पद मान्छे समातेर ल्याउँदैछौं । थप अनुसन्धान जारी छ ।’

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सिमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा बेपत्ता भएका भनिएका धनकुमार गुरुङले नै सुन ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

खच्चडसहित झर्दैगर्दा गुरुङमाथि सँगै आएका चारजनाको समूहले आक्रमणको प्रयास गरेको र सोही घटनापछि बुधबार पक्राउ परेका गुरुङ भागेका थिए ।

अपहरणमा परेको भनेर हल्ला गरिएको भएपनि गुरुङ भागेको हुनसक्ने प्रहरीले यसअघि नै अनुमान गरेको थियो । उनले नै सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए ।

उनलाई बुधबार काठमाडौंमा पक्राउ गरिएको थियो । रासस