८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


काठमाडौंमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने


0
Shares

काठमाडौं, साउन ३ । आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशका अधिकांश भेगमा आंशिकदेखि सामान्य बदली भइ मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

बिहीबार दिउँसो देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

रातिको समयमा देशभर नै सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनसक्छ ।

साथै, बिहीबार देशको पश्चिम र मध्य क्षेत्रका एक/दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ ।

शुक्रबार दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना छ ।

रातमा पनि बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने र पश्चिम तथा मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार पनि यस्तै किसिमको मौसम रहने बताइन्छ ।

काठमाडौंमा गर्मी बढ्यो

बिहान र बेलुका सामान्य वर्षा भएपनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भइ काठमाडौं उपत्यकामा गर्मी बढेको छ ।

मनसुनी वर्षा तुलनात्मकरुपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो ।

काठमाडौंसहित देशभर अझै एक/दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

वायुमन्डल सफा भइ घाम सीधा जमिनमा पर्ने भएकाले एक्कासि तापक्रममा वृद्धि आएको हो ।

मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खन्ड–खन्डमा वर्षा हुने गरेको छ ।

आगामी साउन ५ गतेदेखि मनसुनी गतिविधि पुनः सक्रिय भइ देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।

बुधबार र बिहीबार काठमाडौंको अधिकतम् तापक्रम ३१.६ र न्यूनतम् तापक्रम २१.४ डिग्री सेल्सियस रह्यो । एक साताअघि उपत्यकाको अधिकतम् तापक्रम २४ देखि २७ सम्म पुगेको थियो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहीबार सबैभन्दा बढी नेपालगन्जको अधिकतम् तापक्रम ३८.३ र न्यूनतम् २६.८ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम जुम्लाको अधिकतम् तापक्रम २४ डिग्री सेल्सियस रहेको छ ।

बिहीबार ताप्लेजुङमा २९, डडेलधुरामा १६ र नेपालगन्जमा ६ मिलिमिटर वर्षा भएको छ । रासस