मालीमा फ्रान्सेली सेनाको कारवाहीमा ५० लडाकू मारिए • Image Khabar Image Khabar


मालीमा फ्रान्सेली सेनाको कारवाहीमा ५० लडाकू मारिए


Imagekhabar
१९ कार्तिक २०७७, बुधबार ०७:१४

मालीमा फ्रान्सेली सेनाको कारवाहीमा ५० लडाकू मारिए

काठमाडौं । अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाको कारवाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् ।

फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ती अतिवादी लडाकू मारिएको हो । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको दावी गर्नुभएको छ ।

उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिनुभयो ।

सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका अधिकारीहरुले जनाएका छन् ।

फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गर्नुभएको थियो ।

उहाँले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।

गत अगष्टमा सैनिक बलमा तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएयता माली भ्रमणमा पुग्नुभएका रक्षामन्त्री पार्लीले जतिसक्दो चाँडो निर्वाचन गर्न पनि संक्रमणकालीन सरकारर्लाइ सुझाव दिनुभएको छ ।

मालीमा विद्रोहीलाई नियन्त्रणमा ल्याउन हजारौं फ्रान्सेली सैनिक तैनाथ छन् । सन् २०१३ मा फ्रान्सले गरेको सैनिक कारबाहीबाट इस्लामिक अतिवादी विद्रोहीलाई सत्ताच्यूत भएको थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्