कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार • Image Khabar Image Khabar


कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार


सागर महत (इमेज)
१८ कार्तिक २०७७, मंगलवार १५:५०

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार

अर्घाखाँची, कात्तिक १८ । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ ।

मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव उत्खनन् गरी दाहसंस्कार गरिएको हो ।

उहाँ ‘क्वारेन्टिन’मा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । स्वाब पठाएको केही दिनमा स्वास्थ्यमा समस्या आएपछि उहाँ उपचारका लागि बुटवल जानुभएको थियो ।

उपचारपछि घर फर्कनेक्रममा गएको जेठ २८ गते बाटोमै उहाँको मृत्यु भयो ।

तर, उहाँको मृत्यु भइसक्दा पनि ‘पीसीआर’ परीक्षणका लागि पठाइएको स्वाबको नतिजा आएको थिएन । उक्त रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो ।

प्रयोगशालामा पठाएको नमुना हराएपछि पुनः मृत शरीरबाट स्वाब निकालेर पीसीआर परीक्षणका लागि भैरहवा पठाइएको थियो ।

रिपोर्टमा कोरोना ‘पोजिटिभ’ आएपछि मालारानी–४ स्थित चौरमा शवलाई दुई दिनसम्म खुला आकाशमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।

शव व्यवस्थापनमा विवाद भएको थियो । विवादपछि चौर आसपास खाल्टो खनेर शव गाडिएको थियो ।

त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन र परम्पराअनुसार काजकिरिया गर्न नपाएको आफन्तले बताएका छन् ।

अहिले चार महिनापछि शव उत्खनन् गरेर परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले जानकारी दिनुभयो ।

यता, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले सरकारको पछिल्लो नीतिअनुसार शव उत्खनन् गर्न गाउँपालिकाले अनुमति दिएको बताउनुभयो । उहाँकाअनुसार चार दिनअघि उत्खनन् गरी शवको दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्