पुल निर्माणसँगै दैनिकी सहज • Image Khabar Image Khabar


पुल निर्माणसँगै दैनिकी सहज


भरत शर्मा (इमेज)
३० आश्विन २०७७, शुक्रबार १६:१०

पुल निर्माणसँगै दैनिकी सहज

पाल्पा, असोज ३० । लामो प्रतिक्षापछि सिद्धार्थ राजमार्गखन्डको तिनाउँमा पर्ने दोभानदेखि पश्चिमी क्षेत्र जोड्ने तिनाउँ खोलामा पक्की पुल निर्माण भएको छ ।

यस क्षेत्रमा पक्की पुल निर्माण भएपछि दोभान–सिद्धबाबा सडकखन्डको बुटवलसम्मको वैकल्पिक सडकसमेत अब सहज हुने भएको छ ।

डिभिजन सडक कार्यालयको आर्थिक तथा प्राविधिक रेखदेखमा पुलको निर्माण कार्य पूरा भएपछि दोभान क्षेत्रमा भौतिक पूर्वाधारसँगसँगै व्यापारिक क्षेत्रको विकाससमेत हुने भएको छ । यसअघि, खोलाबाटै सवारीका साधनहरु आवत-जावत गर्नुपर्ने बाध्यता थियो ।

सिद्धबाबा सडकखन्डको वैकल्पिक मार्गको रुपमा समेत रहेको दुई क्षेत्र ७० मिटर लम्बाइ रहेको तिनाउ खोला पुल करिब आठ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

जसले वर्षायाममा पाल्पा सिद्धबाबा सडकखन्डको वैकल्पिक मार्गकोसमेत काम गर्ने पाल्पा डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खत्री बताउनुहुन्छ ।

वर्षायाममा वैकल्पिक व्यवस्था नभएको कारण खोलाको बाटो प्रयोग गरेर आवत-जावत गर्नुपर्ने हुँदा समस्या उत्पन्न हुने गरेको र अहिले पुल निर्माण सम्पन्न भएपछि वर्षामा पनि सहजरुपमा आवत-जावत गर्न पाइएकोे सवारीचालक डिलाराम पौडेलको भनाइ छ ।

पुल निर्माणसँगै यस क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रत्यक्षरुपमा फाइदा पुगेको स्थानीय बासिन्दा चिरञ्जीवी घिमिरेको भनाइ छ ।

पुल निर्माणसँगै बाटो सहज भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

उत्तर-दक्षिणको राजमार्गसँग पुलले जोडिएपछि यस क्षेत्रको आर्थिक विकासमा थप टेवा पुगेको छ । पुल निर्माणसँगै घर-घरमा व्यापारिक प्रयोजनका सामाग्री आउन थालेको छ ।

पुल निर्माणसँगै यातायात सञ्चालनमा आउन थालेपछि सस्तो मूल्यमै सामान घरमा आउने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

कोभिड-१९ को समेत कुनै प्रवाह नगरी निर्माण व्यवसायीलाई काममा लगाएका कारण समयमै निर्माणकार्य पूरा भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्