अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट • Image Khabar Image Khabar


अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट


Imagekhabar
२७ आश्विन २०७७, मंगलवार १४:४३

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट

काठमाडौं, असोज २७ । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ ।

कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकारअन्तर्गत छ ।

सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो ।

संविधानअनुसार प्रदेशभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो ।

गत भदौबाट नै टेकुस्थित केन्द्रले जाँच पास र रुट इजाजत दिन थालेको केन्द्रका प्रमुख मणिराम भुसालले बताउनुभयो ।

उहाँका अनुसार अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालबाहक सबै सवारीसाधनको यहीँबाट परीक्षण र अनुमति दिइनेछ ।

उहाँले भन्नुभयो, “अझै पनि धेरैलाई जानकारी नभएकाले यातायात कार्यालयमा नै गएको पाइन्छ ।”

यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण केन्द्र मात्रै रहेका छन् ।

टेकुबाहेक हेटौँडा र बुटवालमा पनि केन्द्र रहेका छन् भने अरु विभिन्न स्थानमा केन्द्र स्थापनाको योजना बनाइएको छ ।

ती सबै केन्द्रले सवारी साधनको दुरुस्तता परीक्षण गरेर मात्रै जाँच पास गर्नेछ ।

पहिले यातायात कार्यालयमा नै सवारी साधन परीक्षणका लागि आवश्यक जनशक्ति र उपकरण भए पनि त्यो हस्तान्तरण भए पनि जनशक्ति अभावमा जाँचपास गर्न नसकिएको प्रमुख भुसालले बताउनुभयो ।

अहिले जनशक्ति र प्रविधि दुवैले सवारी साधनको दुरुस्तता परीक्षण गरिने भएको छ ।

केन्द्रमा रहेको उपकरण लामो समयदेखि थन्किएकामा अहिले त्यसको मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्