ब्लगः कोरोनाले खोसेका खुशीहरु • Image Khabar Image Khabar


ब्लगः कोरोनाले खोसेका खुशीहरु


Imagekhabar
२५ आश्विन २०७७, आईतवार १५:०९

lost of happiness by corona

कृष्णा खनाल ।

चैत ११ देखिको देशव्यापी लकडाउनले जव्नमा ठूलो पाठ सिकाएको छ । यस्ता पाठ जसले जीवनमा धेरै महत्व राख्छ । काम सिकाएको छ । गरीब हुनुको पीडा बुझाएको छ । बेरोजगार हुनुको, एक्लो हुनुको, पैसाको महत्व, भोको पेटले खानाको । गाउँ छोडेर शहर बस्नुको, देश छोडेर बिदेश पस्नुको र यस्तै धेरै कुरा महशूस गराएको छ । हिजोसम्म घरमा आफन्तसँग समय बिताउन नपाएकाहरु आज आफ्नै घरमा बस्नु पनि जेलमा बसेको जस्तो महशूस गर्छन् । दिनैरात एर्काको अनुहार देख्दा पनि रिस उठ्ने भैसकेको छ, ओ हो यस्तो पनि समय देखाउदो रहेछ समयले ।

कस्तो अचम्म, हिजो र आजमा, कोही परिवार आफू सँगै हुनुसँग ढुक्क महशूस गर्छन् । कोही परिवारसँगै भएकै कारण डरमा छन् । यो सबै परिवारप्रतिको माया र चिन्ताको डर न हो, आफ्नाहरुको सुरक्षाको भय न हो । कोरोनाले एउटा गज्जबको काम गरेको छ, आफ्ना र आफन्तको महत्व बुझाएको छ । कोही घरबाट टाढा छन्, आफन्तको सुरक्षाको पीर छ । कोहीपरिवारसँगै छन् र पनि यहाँ उनीहरुकै सुरक्षाको पीर । जसरी पनि हामी हाम्रा आफ्नाहरुको सुरक्षाको चिन्ता लिइरहेका छौं । यो सबै माया न हो, कोरोनाले प्रकोपले बढाएको माया ।

सामान्य जीवन कस्तो थियो भन्ने लगभग बिर्साइदिएको छ । नयाँ अनुभव जो हाम्रो कल्पनाभन्दा पर थियो त्यससँग साक्षात्कार हुनु परेको छ । आज समय पल्टिएको छ । अझ भनुँ पल्टाइदिएको छ । त्यो पनि कस्लेभन्दा उसले जसलाई हामीले देख्न पनि सक्दैनौं । त्यो एउटा सूक्ष्म भाईरसले ! विश्व का मै हूँ भन्ने राष्ट्र विफल भएका छन् । विश्वमा चमत्कार गरेका वैज्ञानिक, विज्ञ यसका अगाडि निरीह छन् । संसारका सारा मान्छेलाई एउटै डोरीमा बाँधेर कोरोनाले गिज्याईरहेको छ, न त डोरी फुकाउने कडी भेटिन्छ न त चुँडाउन सकिन्छ । डोरीमा अरठ्ठ परेर बस्नुको विकल्प नै छैन ।

त्रासमा बाँच्नु परेको छ । देश छोडेर विदेशिएकाको पीर लिनुपर्ने, स्वदेशमै बा आमा, जहान, छोरा छोरीको पीर लिनुपर्ने । गाउँ छाडेर शहर पसेकाको पीर लिनुपर्ने । शहर बसेकाले गाउँमा बसेका बाआमाको पीर लिनुपर्ने । ओहो यो कोरोनाले बढाएको पीर त, आफ्नाभन्दा पनि आफ्नाहरुको पीरनै बढी । तर यसले पनि सम्बन्धहरु अझ बलिया भने भएका छन् । भौतिक रुपमा टाढा भए पनि आत्मियता झन् बढाएको छ ।

महामारी छ, अहिले समय रोकौँ । महामारी सक्किनासाथ फेरी शुरु गरौँला भन्न पनि नमिल्ने । समय एकनास बगेकै छ । दिन बितेकै छ । रात परेकै छ । तर दिन सहज होलाभन्दा झन्झन् जटिल हुँदैछ । आफन्तलाई जोड्ने चाडपर्व आएकै छन् । तर कसैलाई आईज न त बसुँ, खाउँ भन्न पनि नसकिने अवस्था । न आफु कसैकोमा जाने अवस्था, बोलाउनेलाई आउनेसँग डर, जाने पनि कतै मेरो कारणले भन्ने डर । होस बरु घरमै बस्नु ठीक । धन्न यो समयमा सम्बन्ध जोगाईदिने, सन्चो बिसन्चो थाहा पाउनलाई मोवाईल भन्ने चिज सारै प्रिय रहयो । सन्जालमा पनि स्टे सेफ र स्टे होमका पोस्टले साथिभाइहरुमा एक किसिमको आत्मियता बनाराख्यो परिवारमा पनि एक कल फोनले सन्चो बिसन्चो बताईराख्यो । यस किसिमले मोवाईल, ईन्टरनेट सेवालाई पनि ठूलै धन्यवाद दिनुपर्छ ।

बर्षाैँ परिवारदेखि टाढिएकाहरु भेट्न नपाउनुको पीडा एकातिर, अर्काेतिर कोरोनाको भय चलिरहेकै छ । विदेशिएका स्वदेश फर्किन पाएका छैनन् । शहरका गाउँ फर्किन पाएका छैनन् । मजदुरहरु काममा फर्किन पाएका छैनन् । जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा बस्नुपर्ने बाध्यता । जीवन पहिले भन्दा झन् कठिन बनेको छ ।

फेरि बिचबिचमा चाडपर्व आउछन् । आफन्तहरुको सम्बन्ध जोड्ने चाडपर्व कति छुटेर गए कति छुट्दैछन्, होलिदेखि प्रभावित पर्वहरुको श्रृंखला दशैँ तिहार छठसम्म पुग्ने निश्चित छ । कोरोनाको कहर शुरु पनि भएको थिएन जब होली केही हदसम्म प्रभावित भयो । साथिभाइ आफन्तसँग मिलेर, रंग छ्याप्दै अंगालो हाल्दै खेलिने पर्व प्रभावित भयो । सरकारले नै होली नमनाउन भनेको आदेश नमान्नु पनि कसरी फेरि कस्का लागि हो र हाम्रै लागि त हो । तर कोहिलाई भने होली मनाउन कोरोनाले रोकेन केही युवा जमात जानी जानी या नजानेरै होलिको रंगमा रंगिए । कोरोनाको प्रकोप लगभग शून्यप्रायः नै थियो त्यसैले होला मनाउनेहरुले होली मनाएर आफुले जितेको महशूस गरे । तर कुण्ठिएर घरमै डरले बसेकालाई भने थकथक लागिरहयो ।

संङ्क्रमण संख्या बढदै गयो । डरमा बाँचका गरीबीमा बाँचिरहेकाका लागि दशा आयो । कोरोनाले यस्तो रुप लियो कि देशब्यापी लकडाउन नै लगाउने अवस्था आयो र यसै भयो । यता भर्खर भर्खर शुरु भएको लकडाउन जहाँ मानिसको आउजाउ ठप्प । बाटोमा कोही डुलिरहेको छ भने पनि पुलिसको डन्डा भेट्ने अवस्था र फेरि कोरोनाको भय । उफ चाडपर्व मनाउने त कुनै माहोल नै भएन । जो परिवारसँग थिए, पैसावाल थिए उनीहरुको त क्वालिटी टाईम भयो । तर जो गरीब छन्, मजदुरी गरेर पेट पालिरहेका छन् उनीहरुको लागि त छाक छाक टार्नको लागि टोलाउने अवस्था शुरु भैसकेको थियो । फेरि सरकारले राहतको नाउँमा कुहिएको चामल, एक पोको तेल, एक पोको नुनबाहेक के नै दियो र ?

हरेक नयाँ बर्ष नयाँ उत्साह, उमंग हर्ष, उल्लास, आश लिएर आउँछ । तर यसपालि भने कोरोना लिएर आयो । जसरी २०२० ले विश्वब्यापी कोरोना लिएर आयो त्यसैगरी २०७७ ले नेपालमा कोरोना लिएर आयो कोरोनाको केस बिस्तारै बढ्दै छ, तर कामना यहि भयो कि नेपालमा प्रकोप थप नबढोस् ।

विगतमा जस्तो परिवार मिलेर घुम्नलाई थिएन नयाँ बर्ष । विगतमा जस्तो भेटघाट उमंग, खुशी अहँ केही थिएन । तर घरभित्रै कामना भने गर्याैँ कि जसरी विश्वका अरु देशलाई २०२० कोरोनामा कोरोना महामारीले सतायो कम से कम नेपालमा २०७७ ले त्यस्तो अवस्था नल्याओस् र यसैगगरी दियो बालेरै नयाँ बर्ष भित्र्याऔं ।

कसैले पनि सेलिब्रेट गर्ने हिम्मत गरेनौं । कोही कसैले पनि नजिकै भएका आफन्तसँग पनि भेटेनौँ । आफन्तसँग आफु डराउने अवस्थाअनि ती आफन्त आफुसँग डराउने अवस्था, विगतका बर्षमा जस्तो घुम्न जाने, घुम्ने, होटल रेस्टुरेन्टमा खाने फिल्म हेर्न हल जाने त्यस्तो अवस्था थिएन । सबै बन्दाबन्दी न थियो चाहेर पनि जान पाइएन । रमाउन पाईएन । स्वविवेकले त्यस्तो केही क्रियाकलाप गरेनौं । ठीकै छ चित्त बुझायौं, यो मामलामा हामीमा धैर्य छ भन्ने उदाहरण लिन सकिन्छ । समय र परिस्थितिको अगाडि आफुलाई अनुकूल बनाउन सक्नु पनि हाम्रो राम्रो पक्ष हो र यसरी फेरी पनि एकपटक कोरोनाले एक हिसाबले नयाँ बर्षमा खुशी हुने अवसर छिन्यो ।

मान्छेहरु घर बस्दा बस्दा यस्तो भैसके कि कुन महिना चलिरहेको छ, कुन बार, कति गते भन्ने पनि याद नहुने अवस्था भैसक्यो । यस्तोमा सानातिना पर्वको के मतलव ? सानातिना पर्व को त भ्यालु नै भएन । कोरोना महामारी बढेकै छ, यता भय, डर उत्तिकै छ । तर पनि घरीघरी सरकारले आम नेपालीलाई विभिन्न बाहानामा जोड्ने प्रयासचाहिँ गरिरह्यो, कहिले दीप प्रज्वलन गरौँ, कहिले राष्ट्रिय गान गाउँ भनेरै भए पनि माहोल बनाउन पछि परेन । तर बाँच्नको लागि त खाना नै चाहिँदो रहेछ । दियो बालेर, गीत गाएर पेट भरिँदो रहेनछ । चौतर्फी दवाबपछि लकडाउन त हट्यो तर कोरोनाले बिस्तारै गति लिदै गयो । कोरोनासँग जुध्दै केही सहज हुन खोज्यौँ तर कोरोना किन कम हुन्थ्यो तर पनि लगभग सामान्य जस्तै केहीदिन रह्यो ।

यसबीचमा धेरै चाड आए, तर चाडवाड मनाउने माहोल चाहि बनेन । कहिले लकडाउन त कहिले शटडाउन । यसरी नै बित्यो जनैपूर्णिमा । बन्धुहरुले अलिअली दक्षिणा बटुल्ने मौका पनि गुमाए । जेहोस्, घरघरमा परिवारसँगै हुनेले आफ्नै तरिकाले मनाएर जनैपूर्णिमा बित्यो ।

काठमाडौंमा बिस्तारै संक्रमण बढ्यो अझ वीरगञ्जको अवस्था डरलाग्दो । अब देशव्यापी होईन अवस्था हेरी ठाउँ ठाउँमा निषेधाज्ञा लगाईयो । तेस्रो चरणको निषेधाज्ञा शुरु भो, तिज पनि मुखैमा । मनाउने त सवालै आएन । संभवत दिदीबहिनीहरुको तिज जसरी बित्यो यसमा धेरै दिदीबहिनीले त कोरोना भाइरसलाई सत्तोश्राप नै गरे होलान् ।

अघिल्ला बर्ष जनैपूर्णिमादेखि दिदीबहिनी दर खाने चटारोमा यता र उता गर्दा फुर्सद हुन्थेन । घरका बाँकी सदस्यलाई अवाक हुने गरी दिदीबहिनीलाई तिज लाग्थ्यो । खर्चिलो भड्किलो बिगतको तिज, अहिले भने देख्नेलाई आन्नदको भयो । पुराना बर्षमा जसरी तीज मानिन्थ्यो त्यो तडकभडक देखेर आजित भएकाहरु यसपाली ठिक्क पर्याे भन्दै थिए । जेहोस् घरबाट एक पाईला ननिकाली तिज मनाए दिदीबहिनीहरुले । वाह, मान्नैपर्छ यो धैर्यलाई । एउटा उदाहारण दिदीबहिनीबाट पनि लियौँ, ज्यान रहे न सबै कुरा छ, त्यो सब परिवारको माया न हो । हामी एक अर्कालाई चोट पुर्याउन सक्दैनौं । हिजो एकअर्कालाई भेटेर, एकअर्काको घरघरमा माया बाँडेर कायम राखेको सम्बन्ध आज नभेटेरै, एक अर्कादेखि टाढा रहेरै सम्बन्ध प्रगाढ भएको छ ।

यतिबेला केही क्षेत्र बाहेक दिन सामान्य चलिरहेको छ तर अवस्था भने सम्भाल्नै नसक्ने छ । काठमाडौंलगायतका शहरी क्षेत्रमा संक्रमण बढ्दो छ, दिनदिनै कोरोनाले मर्नेको संख्या थपिदै छ फेरि हामी माहान चाडको संघारमा छौं । भयका बीचमा पनि अलिकति खुशी हुन खोज्छौँ । तर समय यस्तो बनिदिन्छ फेरि निराश हुनुपर्छ । त्यसमा पनि सबैभन्दा दुःखी हामीले हाम्रा चाड परिवारसँग मनाउन नपाउँदा नै हुन्छौँ । नयाँ बर्ष लागेदेखि शुरुभएका चाड आजसम्म छुट्दै आए ।

अब सबैलाई पीर बडादशैको छ । देश विदेश जो जहाँ भएपनि घर सम्झेर फर्केर आउने बेला, बर्षभरी जे जस्तो भएपनि कहिँकतै जुगाड गरेरै भएर पनि मिठो मसिनो खाने बेला । एक सरो नयाँ लुगा फेर्ने बेला र सबैभन्दा धेरै आफ्नो गाउँ फर्किने बेला, यी सबै खुशीको बीचमा कोरोना काँडेतार बनेर बसेको छ । जाउँ कतै कोरोना लिएर गईने पो हो कि, नजाउँ घरमा बाआमा साथिभाइको अनुहार, गाउँ, सबैसबै चित्र अघिल्तिर आएर बस्छ । दिन बित्दै छ तर कोरोना महामारी कम होला भन्दा झन् उग्र रुपमा बढ्दै छ । सामान्य अवस्था थियो भने यतिबेला दशैको माहौलले बाताबरण नै रंगिन हुन्थ्यो ।

दशैको रंगले, आकाशमा चङ्गा उड्नुपर्ने, बजारमा किनमेलको चहलपहलले भिडभाड हुनुपर्ने बेला, गाउँ फर्किन बसपार्कमा टिकट लिनेको लाईन हुनुपर्ने बेला । भारतबाट हजारौंको संख्यामा खसिबोका भित्रिन्थे । यो मामलामा भने यसपाली खसिबोका भाग्यमानी ठहरिए, केही समय बढि बाँच्न पाउने भए । यता गाउँघरमा पिङ हालिनुपर्ने बेला, घर सिंगारपटार लितपोत, सफासुग्घर, सरसफाई हुनुपर्ने बेला, सबैतिर शून्य जस्तै छ । कोहीकसैलाई पनि हर्षले छोएको छैन । काठमाडौंवासी यसै त्रसित छन् । गाउँ फर्किने कि नफर्किने अलमलमा छन् ।

दैनिक संक्रमितको संख्या पाँच हजारभन्दा उकालो लागेको छ । त्यसमाथि काठमाडौंमा नै भेटिन्छन् धेरै त । यस्तोमा यो शहरबाट कोरोना नलिई बाहिर जान कति संघर्ष गर्नुपर्ने हो ? दैनिक १० हजारको परीक्षण गर्दा हजारौं हजार संक्रमित भेटिन्छन् । दायरा बढाईयो भने कति भेटिएलान् ? अब त आफू कहिले संक्रमित हुन्छु भनेर पालो कुरेर बसेको जस्तो छ स्थिति । फेरि दशै तिहार छठ जस्ता पर्वले जति नै रोक कडाई गरेपनि चहलपहल बढाउँछ नै । त्यसले संक्रमणको अवस्था थेग्न नसकिने हो कि भन्ने सोचेरै डर लाग्छ ।

सरकारको मुख हेरौँ भने सरकार आफ्नै ध्यानमा मस्त छ । अझ भनौ कोरोना त मौका भएको छ, आफ्ना स्वार्थ पूरा गर्न, लुट पनि छ छुट पनि छ । सरकारी निकायले त लगभग हात उठाइसक्यो । अब सरकारले कोरोना नियन्त्रणमा केही कदम चाल्ला भनेर आश गर्याैँ भने त्यो केवल लकडाउन निषेधाज्ञा मात्र हो । त्योभन्दा पर सरकारले केही सिन्को भाँच्नेवाला छैन । यो फरक कुरा हो कि आफ्नो मतलबको लागि कुर्सी भने भाँच्छन् ।

हस्पिटलमा बेड छैन । कोरोना बेसारपानीले निको हुँदैन । यस्तो महामारीको बेला पनि गैरजिम्मेवार गतिविधिले आजित परेका जनता सरकारबाट आश राख्नु गोरुलाई ज्वानो खुवाउनु जस्तै हो । यो विषम परिस्थितिमा आफ्नो सुरक्षार्थ आफैं सजग हुनेबाहेक के नै गर्न सकिन्छ र ? आफैं सावधान हुनुबाहेक अर्काे विकल्प पनि त छैन । आफुभन्दा बाहेक दोस्रो व्यक्तिले तपाईंको सुरक्षाको जिम्मा लिन सक्दैन ।

अब यस्तोमा परिस्थिति बुझेर के गर्ने के नगर्ने ? कहाँ जाने, कहाँ नजाने भन्ने निर्णय हामी नै गर्ने हो । आफु र आफ्नो परिवारको सुरक्षा के मा छ आफै विचार गर्ने बेला आएको छ । दुई दिनको खुशीको बदलामा ठूलो मूल्य चुकाउनु नपरोस् । चाडपर्वले आफन्तलाई नजिक्याउँछ तर हामी नजिकिँदै गर्दा कतै तिनै आफन्त धेरै टाढा पुग्ने हुन् कि ? त्यता पनि गम्भीर भएर सोचौँ ।

ब्लगः कोरोनाले खोसेका खुशीहरु
प्रतिक्रिया दिनुहोस्