Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


चार सय ४६ जनाद्वारा आँखा दान सम्झौता


0
Shares

चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् ।

लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र विहीबार एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति सङ्घका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गर्नुभयो ।

आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताउनुभयो ।

क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ ।

लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिनुभयो ।

भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।

अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ ।

यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

यहाँ आँखा बैंक स्थापनाको प्रक्रिया शुरु भएसँगै अहिलेसम्म नौ जनाको आँखाको नानी झिकिएको छ भने ८२ जनामा आँखा प्रत्यारोपण गरिएको छ ।

अस्पतालको पहलमा यसअघि ४१५ जनाले आँखा दानका लागि सम्झौता गरिसकेका छन् ।

एक जना व्यक्तिको आँखाको नानी चार जनासम्मलाई काम लाग्ने भएकाले आँखा दान जीवनको महत्वपूर्ण दान रहेको अस्पतालका सिनियर मेडिकल डाइरेक्टर डा रघुनन्दन व्यञ्जुले जानकारी दिनुभयो ।रासस