मिति सच्याएर बजार पठाउन लागिएको ५ करोडका खाद्य वस्तु बरामद, चार जना पक्राउ • Image Khabar Image Khabar


मिति सच्याएर बजार पठाउन लागिएको ५ करोडका खाद्य वस्तु बरामद, चार जना पक्राउ


Imagekhabar
१९ आश्विन २०७७, सोमबार ०९:५३

मिति सच्याएर बजार पठाउन लागिएको ५ करोडका खाद्य वस्तु बरामद, चार जना पक्राउ

काठमाडौं । चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ ।

यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना पाएपछि प्रहरीले केही दिनदेखि शङ्कास्पद क्षेत्रमा छापा मारेर त्यस्ता कार्यमा संलग्न केही व्यवसायीलाई पक्राउ समेत गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले हिजो मात्रै काठमाडौँको कलङ्कीबाट झण्डै पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्य वस्तु बरामद गरिएको जानकारी दिनुभयो ।

मिति सकिएका खाद्य वस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले बताउनुभएको छ ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई थलोमै पक्राउ गरेको हो ।

बन्दाबन्दीका समयमा नबिकेका सामानलाई मिति सच्याएर बजारमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट त्यस्ता स्टिकर, छाप र छाप लगाउने यन्त्रसमेत बरामद गरिएको छ ।

उनीहरुले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ ।

यसअघि पनि प्रहरीको सहयोगमा वाणिज्य विभागले यसैगरी केही व्यवसायीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्