
काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । महामन्त्री डा. शशांक कोइरालाले विज्ञप्ति निकाली देशब्यापी सडक आन्दोलन घोषणा गरेका हुन् ।
केन्द्र र प्रदेश सरकारहरुले अधिनायकवादी चरित्र देखाएको भन्दै कांग्रेस महामन्त्री कोइरालाले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन दिएको हो ।
संघीय सरकार र प्रदेश सरकारहरु संविधानको भावना र मर्म अनुसार अगाडि नबढी कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट चलिरहेको आरोप उनको छ ।
कांग्रेसले जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँ र नगर इकाइलाई पनि निर्देशन दिएको छ
कोइरालाले निकालेको विज्ञप्तिमा अहिलेको सरकारले संघीय संसद र प्रदेशसभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको, संघीय भावना विपरीत अधिकारको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रमण गरिएको पनि उल्लेख छ ।
संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर संचालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायलाई व्यवसायिक रुपमा संचालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति देखिएको पनि जनाइएको छ ।
देउवा सरकारले गरेका नियुक्तिहरु गैरकानूनी ढंगले खारेज गरिएको, ६५ वर्षमा वृद्ध भत्ता दिने तथा मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा आपत्ति पनि जनाइएको छ ।
डा. गोविन्द केसीको अनसन र आन्दोलनबाट सिर्जित परिस्थितिलाई गम्भीर रुपमा नलिएको भन्दै कांग्रेसले देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुवहु विधेयकका रुपमा आउनुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री केपी ओली गैरजिम्मेवार तरिकाबाट प्रस्तुत भएको भन्दै कांग्रेसले स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रले कानून मान्दै आफ्ना क्रियाकलापलाई अगाडि बढाउने स्वतन्त्रतामाथि वन्देज लगाइएको विरोधमा सडक आन्दोलनमा जानुपरेको पनि विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्