नेकपा युद्ध विराममा, कांग्रेस कुस्ता कुस्तीमा « Image Khabar


नेकपा युद्ध विराममा, कांग्रेस कुस्ता कुस्तीमा


Imagekhabar
३० भाद्र २०७७, मंगलवार ११:०७

-संजिव कार्की

बिबादको लामो शृंखलावद्ध आन्तरिक कलह र झैझगडा अल्पविराम राखेर नेकपा फुटको संघार क्रस गर्न नसकी केही राहतको लामो श्वास फेर्न पुगेको छ । यद्दपी, नेकपा झगडाको पूर्ण विराम र अन्त्य नभएर केवल युद्द विराम, आस्थाई ब्यवस्थापन या विश्रामको रुपमा बुझ्न सकिन्छ । फुट्न नै नमिल्ने बाध्यता बन्धन अप्ठ्यारोको कारण मात्र नेकपा फुट्न नसकेको हो । अन्यथा नेकपा भित्रको विवाद आरोप लान्छना र गालीगलौज विपक्षी पार्टीको झैँ छ । चुनावमा अर्को विपक्षी पार्टीलाई आक्रमण गरे झैं प्रहार, दोषारोपण र असक्षम र योजनाविहीन लक्ष्यविहीन जस्ता आरोपको वर्षा र निक्रिस्ट गालीको प्रचारप्रसार समाचार माध्यम र संचार माध्यमबाट भएको बाट पनि थाहा लाग्छ, नेकपा बैधानिक रुपमा एक देखिए पनि भावनात्मक रुपमा एक छैन । चिरा चिरा परेको छ ।

अनुशासन बिधि र पद्दति आफ्नो आफ्नो समूहको स्वार्थको हित अनुकुल मात्र ब्याख्या विश्लेषण गरिन्छ । तिक्तता, अविश्वास र संसय यति रह्यो कि पार्टी भित्रकै अर्को पक्ष प्रचण्ड-माधव-झलनाथलाई भारतीय दलाल र भारतको इसारामा सरकार ढाल्न लागेको अभिव्यक्ति स्वयं प्रधानमन्त्रीले सार्वजनिक गरे । देशद्रोहीको आरोप पनि लगाउन भ्याए । नक्कली राष्ट्रवादी र सक्कली राष्ट्रवादीको दावी पनि प्रस्तुत गरिए । प्रधानमन्त्री, राष्ट्रपतिदेखि अरु भूतपूर्व प्रधानमन्त्री र बरिष्ठ नेताहरुदेखि सामान्य कार्यकर्तासम्म वारपारको लडाई लडन तयार भए झैं देखिन्थे ।

पार्टी आज हो कि भोलि फुट्छ भनेर दिनगन्ती शुरु भएको ६ महिना बढी भएको थियो तर पार्टी फुट्दा दुवै समुहको अस्तित्व दुर्घटनाग्रस्त भएर संकटको भुमरिमा फस्ने र जनताको नजरमा अरु गिर्ने निश्चित थियो । त्यसैले आज रहेको सत्ता र शक्तिको भोग विलास खोसिने भयले दुवै पक्ष सहमति अर्थात भागबन्डामा आउन बाध्य भए । ‘मिलिजुली खाउँ, बाँडीचुडी दिन राजीछु’ भनेर आफ्नो सत्तायात्रा लम्ब्याउन ओली पनि सहमतिमा आउन राजी बने । सहमति खोज्ने कार्यदलको नौटंकी रचियो प्रचण्डलाई कार्यकारी अधिकार थपिदिने ओलीलाई सत्तामा राखी राख्ने फेस सेभिंगको नीति अबलम्बन गरेर बेतुकको झगडा बेतुककै सामाधान खोजेर झगडा अल्प बिराममा छ । झगडामा मुख मिलेको मन नमिलेको कुरा कृषि मन्त्री घनश्याम भुसालको यो टिप्पणीले पुष्टी गर्छ । भुसालको टिप्पणी छ, ‘ब्रेन ट्युमरको बिरामीलाई टाउकामा तेल मालिस गरेर ठिक लगाउने उपाय ।’’

झगडा सैद्धान्तिक थिएन, होइन । झगडा पुस्तान्तरणको लागि पनि भएको होइन । पुरानो पुस्तालाई बिस्थापित गर्न गुट भित्रका युवा नेताहरु नै तयार छैनन् । तसर्थ मेलमिलाप पनि सैद्दान्तिक होइन । असैद्दान्तिक विवाद असैद्दान्तिक मिलाप । तल्लोस्तरको गालीगलौज र एकअर्कोलाई भारतीय दलाल भएको आरोप प्रत्यारोप उसै मिल्यो । सरकारले गरेको भ्रष्टाचार आफैं सेलायो । न बिमति राख्ने तरिका र पद्दति थियो न त्यसले पूर्णता पायो । मानौं त्यो केटाकेटीको झगडा र आक्रोश थियो ।

माधवसत्ता र पदको छिनाझम्टि मात्रै भएको हुनाले आरोप जसले जसलाई जे लगाए पनि हुन्छ । जसो भने पनि हुन्छ । किनकि झगडा सैद्दान्तिक धरातल टेकेको होइन । सैद्दान्तिक असहमति र नीति बिधि पद्दतिको झगडा हुन्थ्यो भने गत मंसिरमा ओली प्रचण्डको जुन सहमति थियो त्यो भन्दा पर भदौको सहमति पनि देखिएन भएन । तर नौटंकी अन्त्य गर्न डोकोले छोपेको सत्य देखाइयो सबै छर्लंग छ । तर बिधि र पद्दतिले विवाद हल गरेको नाटक मन्चन गरियो । यो सब दुवै पक्षका नेताहरुको बाध्यताको उपज हो ।

विवाद सत्ताको भागबन्डामा पुग्यो अब समान अवसर र समान सहभागिता दुवै पक्षको बराबर भाग भए विवाद मिल्छ अन्यथा केही समयपछि पुनः ब्युतिने छ । प्रचण्ड ओलीको चाउरे पिरतीमा माधव झलनाथ खुलेर समर्थनमा छैनन् । तापनि यतिबेला मिल्यौं भन्नुको भरपर्दो विकल्प अर्को छैन । मन्त्रिपरिषद्को पुनर्गठनको तयारी सँगै फेरी दौडधूप भनसुन , दावी र भाग खोजाखोजले नेकपा भित्रभित्र तरंगित छ । मन्त्री पद खोसिनेको असन्तुस्टी ब्यबस्थापन आफैंमा अर्को चुनौती चुनौती हो । मन्त्री पद खान र पार्टी भित्रको आन्तरिक समिकरण पछि आफ्नो भाग खोज्ने जमात सानो छैन ।

मिल्यौ भनिसकेको हुनाले अप्ठ्यारो देखाउन पनि असजिलो छ तर मिल्नुपर्ने र मिलाउन बाँकी कुरा कतिछन कति ? पद ब्यबस्थापन र नेता ब्यबस्थापन एमसीसीबारेको स्पष्टता, पार्टीमा एक्काईसौं शताब्दीको प्रचण्डको जनवाद कि मदन भण्डारीको जनवाद भन्ने विषय टड्कारो नै छ । यो विवाद सैद्दान्तिक पनि होइन र प्रणालीगत सुधारको पनि थिएन । सैद्दान्तिक विवाद भनौं भने सिद्दान्त नै निर्क्योल नगरी पार्टी एकता कसरी गरियो ? हामी मिल्यौं भन्यो मिल्यो मिल्नुको आधार भनेकै बाँडीचुडि खाने सहमति । सरकारलाई लगाएको भ्रष्टाचारको आरोप अनि सरकारले लगाएको भारतीय दलालको आरोप केवल विलासका लागि मात्रै थिए त ? कार्यकर्ता भेडा हुन् । समर्थन गर्लान तर जनताले यी सब कुरा चुपचाप सहलान या दण्ड गर्लान त्यो समयले छिनोफानो गर्ला । ब्यबहार, बोलीबचन, आलोचनामा नैतिकताको स्थान नभएपछि पार्टी यस्तै चल्दोरहेछ, हुँदोरहेछ ।

एकातिर सत्तापक्षको विवाद केही मथ्थर हुदैछ भने अर्को तिर प्रमुख प्रतिपक्ष अर्थात वेटिंग गभर्मेन्टको हाल पनि उत्तिकै खराब र झैझगडा आरोप प्रत्यारोप र एकअर्का पार्टी भित्रका प्रतिपक्षी, प्रतिस्पर्धीलाई खुइल्याउन र पार्टी कम्जोर बनाएर आफू व्यक्ति देउवा ,रामचन्द्र ,अरु बिभिन्न पात्र मात्रै बलियो सबल र निपूर्ण भन्ने ,बन्ने ध्यानमा केन्द्रित छन् । पार्टी सभापति बन्न नगर्नुपर्ने हर्कत दुवै पक्ष अझ अरु गुट र उपगुटको सिर्जना गरेर दाउ आफ्नो पक्षमा पार्न युद्द स्तरमा लागेका छन् । आगामी फाल्गुनमा हुने भनिएको १४औं महाधिवेशमा सभापति बनेर पार्टी सभापति हत्याउने दाउमा कांग्रेस नेताहरु आआफ्नो गणित मिलाउन लागेका छन् ।

पार्टीमा प्रतिस्पर्धा स्वाभाविक भए पनि प्रतिस्पर्धीको अलोकतान्त्रिक हर्कत नैतिकता नभएको सक्रियता निन्दनीय छ । कोइरालाद्वय गिरिजाप्रसाद र सुशीललाई जुन आरोप लगाएर देउवा बिरोध गर्थे आज सोही नीति उनी आफैंले अख्तियार गरेका छन् । कोइरालाको नीतिलाई समर्थन गर्ने रामचन्द्र आज देउवा कोइराला मार्गमा हिडेकोमा क्षुब्ध छन् । सुशीलले एकलौटी गरे भनेर आफ्नो समुहका सबैलाई राजीनामा दिन लगाउने शेरबहादुर नीति अब रामचन्द्रको भएको छ । शेरबहादुरले एकलौटी गरेको बिरोधमा रामचन्द्र समूह राजीनामा दिने घुर्कीमा देखिएको छ ।

नैतिकता इमान र निष्ठा आआफ्नो अनुकुल प्रयोग गरेर यसको मौलिकता र चुरो पार्टीहरुले खत्तम बनाई सकेका छन् । भोलि नैतिकताको मानक के हो भन्दा सबैका आआफ्ना अनूकुलका मान्यता र मानक बन्नेछ इमान र निष्ठाको मानक भत्कने छ । सामाजिक मूल्य र नैतिकता इमान र देशभक्तिको परिभाषा व्यक्तिपिच्छे पार्टीपिच्छे भिन्न र हास्यास्पद बन्नेछ । सामाजिक मूल्य सिकाउने पार्टीहरुको होडबाजीले समाजमा छाडापन र नैतिकहीन चरित्रको बिगबिगी चल्दै आएको छ ।

कोभिड–१९ जस्तो महामारीमा पनि पार्टीहरू भित्र मानवीय संवेदना होइन आफ्नो ज्यान सुरक्षित गर्ने आफ्नो पद सुरक्षित गर्ने निर्लज्जता देखियो । नेकपा आफ्नो विवादमा पानी छर्केर शान्त भएको मात्रै छ भने कांग्रेस भित्र भुसको आगो दन्कने तयारीमा देखिएको छ । नेकपाको राम रमिता, रस्साकस्सी र नौटंकी हेरेर दिक्क भएका रैतीलाई अब मनोरन्जन दिने पालो कांग्रेसको रहेको छ । नालायक र गतिहीन मतिहीन पार्टीहरुको गलत रवैया र असक्षमताको साक्षी बसेर नग्न नृत्य हेर्न रैती कतिन्जेल अभिशप्त बनिरहने ?

प्रतिक्रिया दिनुहोस्