काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै सरकारले तोकेका मापदण्ड उल्लंघन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप भएको भन्दै प्रशासनले मापदण्ड पालनामा कडाइ गर्ने आग्रह गरेको छ ।
प्रहरीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही थालिएको जनाएको छ ।
यता निषेधाज्ञा केही खुकुलो भएपनि अहिले अनावश्यक रूपमा उपत्यका भित्रन तथा छोड्न समेत दिइएको छैन ।
बिहीबारबाट लकडाउन केही खुकुलो भएपनि सर्वसाधारणले सहज रुपमा काठमाडौँ उपत्यका भित्रिन पाएका छैनन् ।
सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेदेखि नै काठमाडौँ उपत्यकाभित्रका नाकामा आवतजावतमा कडाई गरिएको थियो ।
बीचमा केही खुकुलो पारिएको भए पनि अब भने अत्यावश्यक काममा पनि प्रशासनबाट जारी भएको पास लिएरमात्र काठमाडौं बाहिर जान पाइने भएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले तोकेको मापदण्ड र निर्देशन नमानेमा जो कोहीलाई पनि कारबाही हुने चेतावनी दिनुभएको छ ।
उहाँले जिल्ला प्रशासन कार्यालयले जारी गरेको १९ बुँदे मापदण्ड पालना भए नभएकोबारे अनुगमन भइरहेको भन्दै सरकारी निर्णयलाई अक्षरस पालना गर्न आग्रह गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्