६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन • Image Khabar Image Khabar


६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


Imagekhabar
२४ भाद्र २०७७, बुधबार १४:३२

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, भदौ २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो ।

पाँच श्ययाका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् ।

अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गर्नुभएको थियो ।

अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् ।

ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् ।

मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ ।

अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ ।

ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्