६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चार ‘बलात्कारी’ रंगेहात पक्राउ, अपहरण गरी गाडीमै सामूहिक ‘बलात्कार’


0
Shares

उदयपुर, असार ३२ । एक महिलालाई राति सिरहाको लहानबजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ ।

स्कार्पियो गाडीबाट आइतबार राति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान बस्ने २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह र सिरहाको मिर्चैया बस्ने २६ वर्षीय नितेशकुमार साह रहेका छन् ।

जिप्रका प्रमुख नवराज भट्टकाअनुसार आइतबार राति ११ बजेको समयमा लहानबजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई चारैजनाले अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका ल्याउँदै थिए ।

बा१४च ६८१७ नम्बरको स्कार्पियो गाडीमा ती महिलालाई निवस्त्र अवस्थामा ल्याउँदै गरेका बेला प्रहरीचौकी लालपता, उदयपुरका गस्ती प्रहरीले उनीहरुले रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख भट्टले बताए ।

घटनालगत्तै जिप्रकाबाट घटनास्थलमा पुगेका थप प्रहरीले गाडी, अपराधी र पीडित महिलालाई नियन्त्रणमा लिएका थिए ।

जिप्रकाले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर घटनाकाबारेमा जानकारी दिएको हो ।

आफू लहानबजारको आँप व्यापारी भएको, राति खाना खान डेरामा जान लाग्दा चारजना पुरुषले बाटो छेकेर जबर्जस्ती गाडीमा चढाएको र मुखमा पट्टी बाँधिदिएर सबैले पालैपालो बलात्कार गरेको पीडित महिलाले आफ्नो बयानमा बताएकी छन् ।

स्वास्थ्य जाँच गराएर अहिले उनलाई महिला प्रहरी एकाइमा सुरक्षित राखिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको पनि प्रहरीले जनाएकोको छ ।

प्रहरीकाअनुसार पक्राउ गरिएका चारजनाविरुद्ध सोमबारै जिल्ला अदालतमा म्याद थप गरी अपहरण तथा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिँदैछ । रासस