२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कोटेश्वर-जडिबुटी सडकखण्ड ८ लेन विस्तारको काम शुरु


13
Shares

काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जाम हुने कोटेश्वर जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ ।

सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।

दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो ।

२ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बिचका ४ लेन सिधै कोटेश्वर-जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो ।

सबैभन्दा बढी जाम हुने क्षेत्रमा सडक विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले बताउनुभयो ।

४÷६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरु भएको भन्दै उहाँले जडिबुटी क्षेत्र आसपासमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताउनुभयो ।

सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले शतप्रतिशत जाम कम गर्न नसकिएपनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हुने दावी गर्नुभयो ।

उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ ।

जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहेपनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।