बमसहित चन्द समूहका कार्यकर्ता पक्राउ • Image Khabar Image Khabar


बमसहित चन्द समूहका कार्यकर्ता पक्राउ


Imagekhabar
१३ भाद्र २०७७, शनिबार २१:०६

बमसहित चन्द समूहका कार्यकर्ता पक्राउ

सिन्धुली, भदौ १३ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार नेक्रविक्रम चन्द समूहका एक महिला कार्यकर्तालाई पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिइएको घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

शिक्षकलाई बाहुनतिल्पुङबाट अपहरण गरेपछि ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महिलालाई दुई सकेटबम र एउटा सुतली बमसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

तीनपाटन गाउँपालिकाको वडा नम्बर-८ मा रहेको भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रहनुभएका नारायणप्रसाद भण्डारीलाई ती महिलासहित ११ जनाको एक समूहले नियन्त्रणमा लिइ झन्डै दुई घन्टा हिँडाइ लायोगाउँसम्म पुर्‍याएको पाइएको उहाँले बताउनुभयो ।

चन्द समूहका कार्यकर्ताको नियन्त्रणमा रहेका शिक्षक भण्डारीलाई सकुशल नियन्त्रणमुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

बिहान ९ः३० बजेको समयमा चन्द समूहका कार्यकर्ताले नियन्त्रणमा लिएकामा दिउँसो १ः०० बजे शिक्षक भण्डारी चन्द समूहका कार्यकर्ताबाट नियन्त्रणमुक्त हुनुभएको उहाँले जानकारी दिनुभयो ।

बिहानै नियन्त्रणमा लिएको भएपनि प्रहरीलाई बिहान ११ः०० बजे जानकारी आएको र प्रहरीले खोजी गर्दा लायोगाउँबाट शिक्षकलाई छुटाउन सफल भएको उहाँको भनाइ छ ।

स्थानीयबासी र प्रहरीले शिक्षक भण्डारीलाई खोज्न थालेको खबर चन्द समूहका कार्यकर्ताले थाहा पाएलगत्तै शिक्षक भण्डारीलाई तीनपाटन गाउँपालिकाको वडा नम्बर-८, लायोगाउँमा छाडेर उनीहरु फरार भएको उहाँले जानकारी दिनुभयो ।

उक्त घटनामा संलग्न महिला कार्यकर्तालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दैगर्दा चन्द समूहको अपहरणमा परेका शिक्षक भण्डारी पनि जिल्ला प्रहरी कार्यालयमा नै रहनुभएको छ ।

उहाँलाई के कारणले नियन्त्रणमा लिएका हुन् भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्