Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पोखरा महानगरमा करोडौं रुपैयाँ राजस्व हिनामिना भएको भन्दै कारबाहीको माग


0
Shares

pokhara

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन २८ । नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकामा करोडौं रुपैयाँ राजस्व हिनामिना भएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

बुधबार कास्की कांग्रेस सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै नगरबासीले तिरेको करमध्येको १३ करोड बढी रकम हिनामिना भएको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

पोखरा महानगरपालिका–२१ का वडासदस्य राम गुरुङले विकास निर्माणको बजेटमा ‘कमिसन मागेको अडियो’ सार्वजनिक हुनु अत्यन्तै लज्जास्पद भएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाहीको मागसमेत गरिएको छ ।

त्यस्तै, कोरोना महामारीको अवस्थामा संक्रमितको उपचारलाई व्यवस्थित गर्न र परीक्षणको दायरा बढाउन आवश्यक देखिएकाले त्यसतर्फ गम्भीरता देखाउन महानरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

कास्की कांग्रेसका सभापति केसीले महानगरपालिकाका गतिविधिका कारण जनप्रतिनिधिप्रति जनताको विश्वास घटेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले आफूहरुले उठाएका विषयमा गम्भीर नभए आन्दोलन गर्नुपर्ने अवस्था सृजना हुने चेतावनी दिनुभयो ।

नगरप्रमुख जिसीले सो सम्बन्धमा छानबिन गरी कारबाही गर्ने बताउनुभएको जनाइएको छ ।