गोंगबु हत्या प्रकरण: हत्या आरोपमा एक महिलालाई चितवनबाट काठमाडौं ल्याइयो • Image Khabar Image Khabar


गोंगबु हत्या प्रकरण: हत्या आरोपमा एक महिलालाई चितवनबाट काठमाडौं ल्याइयो


Imagekhabar
२७ श्रावण २०७७, मंगलवार ०९:०२

गोंगबु हत्या प्रकरण: हत्या आरोपमा एक महिलालाई चितवनबाट काठमाडौं ल्याइयो

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतवार भएको विभत्स हत्यामा संलग्न रहेको आरोप लागेकी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएको छ ।

दाङका कृष्ण बहादुर बोहोराको हत्या आरोपमा कल्पना शाही नाम गरेकी महिला र उनकी छोरीलाई मंगलबार बिहान तीन बजे काठमाडौं ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दुबै जनालाई प्रहरीले सोमबार चितवनको टाँडी, माधवपुरबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई मंगलबार बिहान प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको छ ।

प्रारम्भिक बयानका क्रममा ती महिलाले हत्या गरेको स्विकारेको बताइएको छ । हत्या गरिएका दाङका बोहोरासँग उनको के कस्तो सम्बन्ध थियो भन्नेबारे केही खुलाइएको छैन ।

गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र शरीर अलग गरेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको थियो ।

सोमबार अपरान्ह मात्रै मृतकको पहिचान खुलेको थियो । सुटकेस भेटिएको स्थानभन्दा करिब सय मिटरको दूरीमा रहेको एक घरको तेस्रो तलामा बोहराको हत्या भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्