२ असार २०८२, सोमबार | Mon Jun 16 2025


पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने


0
Shares

पेरिस, असार ३१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।

सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । 

अमेरिकाको यो कदमको स्वागत गर्दै बेलायत र केही युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो ।

त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्ने बताइएको छ । विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतिक्षित वार्ताका रुपमा पनि लिएका छन् ।

उनीहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने रुसबाट प्राप्त समाचारमा जनाइएको छ । हेलसिन्की वार्तापछि उनीहरुको पत्रकार सम्मेलन हुने छ । 

क्रेमलिनका प्रवक्ताले शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको गत शुक्रबार मस्कोमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

दुई शक्तिशाली राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी रुसी सञ्चारमाध्यमहरुले दिएका छन् । साथै ती सञ्चारमाध्यमले यी दुई राज्यप्रमुखहरुले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि आ–आफ्ना अनुमानहरुमा समाचार बनाएका छन् ।

एक अर्काले विपरित धारको नेतृत्व गर्दै आएका तथा पछिल्लो समयमा विविध विषयमा एक अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

यसअघि उहाँहरूबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो । त्यस समयमा उनीहरुबीच छिट्टै वार्ता गर्ने सहमति भएको बताइएको थियो । (रासस/एएफपी)