Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


जग्गा सरकारी, भाडा खान्छन् व्यक्तिः साढे दुई दशकदेखि व्यक्तिकै कब्जामा


0
Shares

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित करोडौं पर्ने जग्गा साढे दुई दशकदेखि व्यक्तिको कब्जामा पाइएको छ।

कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा रहेको तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन्।

कुँवर बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक हुन्। उनले चक्रपथबाहिर वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले भाडा त कहिले खरिद गर्ने बहानामा कब्जा गरेको देखिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले उक्त जग्गामा कृषि तथा तरकारी बजारका रूपमा तरकारी, फलफूल, किराना पसललगायत सञ्चालन गर्न विभिन्न व्यक्तिलाई भाडामा दिई रकम उठाउँदै आइरहेको देखाएको छ।

२५ वटा सटर, ५५ स्टल बनाई बल्खु कृषि तथा तरकारी बजारलाई भाडा दिई कुँवरले मासिक ५ लाखभन्दा बढी रकम हात पार्दै आएका छन्।

कृषि सामग्रीले २०३९ फागुन १२ मा काठमाडौं–१४ बल्खुस्थित कित्ता नम्बर ३६३, ३६६ र ४८२ को क्रमशः १ रोपनी १० आना २ पैसा ३ दाम, ७ आना २ पैसा, १३ आना ३ पैसा १ दाम जग्गा ४ लाख ९५ हजारमा केशवबहादुर राजभण्डारीसँग खरिद गरेको उल्लेख छ।

‘कम्पनी सञ्चालक समितिले न्यूनतम भाडा रकम प्रतिवर्गफिट १० रुपैयाँ प्रतिमहिना लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन भएको देखिएको छैन’, प्रतिवेदनमा लेखिएको छ। -अन्नपूर्ण पोष्ट दैनिकबाट